रेलको टिकट बस काउन्टरमा काट्न जाने बुढी आमाको कथा


पृथीछक बुढा
कखरा नसिकेकी आमा । अक्षर ज्ञान खुट्याउन नसक्ने मेरी बुढी आमा । काठमाडौं रुकुम र रुकुम काठमाडौसम्मको २४ घण्टा लामो बस यात्रा गरिसक्नु भएको छ । त्यस्तै रुकुम काठमाडौ र काठमाडौ रुकुमको हवाइजहाजको यात्रा पनि गरिसक्नु भएको उहाँलाई रेल यात्राको भने ठूलो सौख थियो । त्यसमा पनि चुच्चे रेल कस्तो हुन्छ भन्ने उहाँको भित्रैदेखिको जिज्ञासा थियो ।

नेपालमै नभएको रेल । त्यसमा पनि चुच्चो परेको रेल । “भगाई लान्छु रेलिमाई गोरखपुर रेलैमा, मुसुमुसु हासिदेउ रेलिमाई भेट भाको वेलैमा” यस्तै यस्तै गितहरु जमानाका केटाकेटीहरुले गाएको सम्झिनु हुन्छ । रेलको खुबै गुणगान सुनेकी आमालाई रेल हेर्न ठूलो रहर जागेकै हो ।

त्यो रहर पहिले कहिलै प्रकट नगरेकी आमालाई त्यो रहर र इच्छा जगाइदिने श्रेय अहिलेका हाम्रा प्रधानमन्त्री शर्मालाई जान्छ । शर्माको एकताकाको भाषण सुनेपछि रेल नचढी तलमाथि नहुने उहाँको उद्घोष थियो कमसेकम २०७६ सालसम्मको लागी । कारण शर्माले २०७६ सालसम्म नेपालमा चुच्चे रेल ल्याउछु भनेका थिए ।

गत साल बित्यो त्यो समयसीमा र अहिले ७७ लागेको छ । पोहोर साल गाउँ गएको वेला आमाले फ्याट्टै सोधिहाल्नु भो- “कसरी आयौ ? रेलमा ?”

बिचरी मेरी आमा । रुकुम जो मेरो गृह जिल्ला हो । जीप चल्ने गतिलो बाटो त छैन के रेलका कुरा गर्नु र ? जवाफमा भने- “जीपमा ।”

“क्यान ? यो कोन साल हो ?” रेल नआएकाले कतै ७६ साल आइनसकेको हो कि भन्ने आमालाई कन्फ्युज परिसकेको थियो । शर्माले भनेको ७६ साल उहाँको दिमागका कण्ठष्ट भएर बसेको थियो ।

“७६ चलिराछ आमा ।” मेरो सिधा जवाफ थियो ।

“त्यो खस्याले चुच्चे रेल ल्याइन ? क्या अचम्म तो । माउबादीको प्रचण्डले झैँ ढाट्यो कि ?”

आमाले पोहोर सालै ओलीलाई सत्तोसराप दिएको अझै सम्झिन्छु । हावाबाट बिजुली निस्किन्छ भनेर कुन चाहिँ ओलीको कार्यकर्ताले सुनाएछ, सुपु हल्लाएर “शहरा जस्तो किन बिजुली बलेन” भनेर फोनैमा मलाई झपारेको याद छ ।

आज बिहान अचानक आमा मेरो कोठामा टुप्लुक्क टुपुल्किनु भो । मैले उहाँलाई खुट्टामा ढोगे तर आशिर्वाद नदिएर ओलीलाई सत्तोसराप गर्न पो थालिहाल्नु भो ।

यी बुढी आमैलाई के भो ? बिना खबर यहाँ कसरी आइपुग्नु भो । अनि बिचरा ओलीलाई किन सरापेको ? ठूलो असमान्जसमा परिसकेको थिएँ ।

ओलीलाई सरापेर थाकेपछि अलिकती शान्त भएर उहाँले इतिबृत्तान्त सुनाउन थाल्नु भो ।

गाउँमा नेपालमा रेल आयो ! रेल आयो भन्ने ठुलै हल्लिखल्ली भएछ । खासमा आमाले ७६ सालमा रेल आएन भनेर थाहा पाइसकेपछि रेलका कुरा भुलिसकेका थिए । तर अचानक गाउँमा आएको हल्लाले उहाँमा फेरि रेल यात्राको सौख बौरिएर आएछ । तब छोरोलाई सरप्राइज दिन्छु भनेर खुसुक्कै मलाई नसोधी घरबाट निस्किनु भएछ ।

केही घण्टा पैदल हिंडिसकेपछी सिस्ने यातायातको काउन्टरमा गएर बडो रबाफका साथ काउन्टरको मान्छेलाई टिकट माग्नु भएछ- “ए केटा मलाई एउटा रेलको टिकट दे त । अलि अगाडीको टिकट मिलाइदेल ।”

बुढी मान्छे बसको टिकट भन्न खोज्नु भएको होला भनेर टिकट काउन्टरको मान्छेले अगाडिको बसको टिकट मिलाइदिएछ ।

“खै त रेल ? देखिन्न त ?” यताउता आँखा डुलाउदै आमाले त्यो काउन्टरको मान्छेलाई भनेछ ।

बुढाबुढी मान्छे बिचराले बसलाई रेल भन्छ भनेर त्यो मान्छेले सोचेछ र आमालाई आस्वस्त पारेछ- “आमा अब एक घन्टामा आउँछ ।”

एकघण्टा पछि एउटा मिनि बस आएछ । तब काउन्टरको मान्छेले आमालाई तपाईं जाने काठमाडौको बस आयो भनेर जानकारी दिएछ । तब आमाले आफू त रेलको टिकट काटेकाले बस आउनुको कुनै टुक नभएको भनेर वास्ता गरेनछ ।

जब गाडी हर्न बजाउन लाग्यो सबै यात्रुहरु बसमा चढिहाले । सबै बसमा चढेपनि आमा नचढेपछी काउन्टरको मान्छेले तपाइँको बस जान लाग्यो भनेर आमालाई जानकारी दिएछ तब आमाको कन्पारो तातिहालेछ र “मलाई रेलको टिकट भनेर बसको टिकट बेच्ने ?” भन्दै गएर त्यो काउन्टरको मान्छेको गालामा एक लपेटो दिनुभएछ ।

बिचरा लपेटो भेटेको केटोले आमालाई सम्झाएछ- “आमा रुकुममा कहाँ रेल आउनु ।”

“गाउँमा त रेल आयो रेल आयो भन्थे त ।” आमा अलिकती खिस्स परेर केटोलाई भन्नू भएछ ।

“भारतबाट आएको रेलले नेपालको बोर्डर अलिकती के छोएथ्यो कार्यकर्ताहरुले धुम मचाइहाले । त्यो रेल त पहिलै थ्यो आमा । लिक बिग्रेर बस्याथ्यो । बनाए भन्थे । यता आइपुग्न त युगौ लाग्छ ।” केटोले यथार्थ बताइदिएछ ।

“त्यो खस्याले त पुर्बपछिम रेल ल्याउँछु भन्याथ्यो त ।” आमाले जिज्ञासा राख्नु भएछ ।

“त्यो बाजेले त जेपनि भन्छ नि आमा । भन्न त चुच्चे रेल ल्याउँछु भन्याथे । त्यो बोर्डरमा आको रेल पनि बुच्चो परेको छ रे । पहिले हावाबाट बिजुली चलाउछु भन्यो, हावैमा उड्यो कुरा । पानी जहाज ल्याउछु भन्यो, जेटबोट ल्याएर जसलाई पानीजहाज भन्यो । अहिले आएको रेल पनि त १० बर्ष अगाडी सम्झौता गरेको रहेछ ।” केटोले भन्यो ।

केटोको कुरा सुनेर आमा रिसले भुटुक्कै । के पो गरौं त ? यहाँसम्म त आइयो । बसमा जाने त होला । अन्तिममा फेरि पक्का गर्नलाई आमाले त्यो केटोलाई सोध्नु भएछ- “रेल नआएको सहि त हो नि ?”

“एकदमै सहि आमा । नपत्याए अरुलाई पनि सोध्दा हुन्छ ।” केटोले जवाफ दिएछ ।

त्यसपछि कि घर वापस जानू प-यो कि बस चढेर काठमाडौ आउनु प-यो । यहाँसम्म आएपछि किन फर्कनु भनेर बसैमा चढेर काठमाडौ आउनु भएछ ।

बाटोमा कसैसँग एक शब्द नबोली काठमाडौ आइपुगेको आमा कोठामा आएपछी एक्कासी फायर । ओलीलाई गाली गरेर थाकेपछी अन्तिममा उहाँले छोटो प्रतिक्रिया दिनु भो- “रेल नचढेरै मरिने भो ।”

२०७७ आश्विन ३,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको