ओलीजी र मेरोबीच कुनै सहमति भएको छैन : प्रचण्ड


साउन ४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । प्रचण्ड त्यसमा सकारात्मक थिए ।

तर आइतबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उनले ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको बताएका छन् ।

‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन । सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’, प्रचण्डले बैठकमा ब्रिफिङ गरे, ‘यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’ उनले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको पनि बताएका थिए ।

यसबारे विभिन्न टिकाटिप्पणी भएपनि प्रचण्ड निवासमा छुट्टै छलफल भएको हो । छलफलमा प्रचण्डले सचिवालयका सदस्य माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समीकरण नबनेको कुरा प्रष्ट पारेका थिए ।

ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेका थिए ।
पार्टी तथा सरकारको बारेमा आफ्नो जे अडान थियो त्यो अझै कायमै रहेको भन्दै त्यसमा शंका उपशंका नगर्न समेत प्रचण्डले आग्रह गरे ।

पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएर साउन ६ गतेका लागि तय भएको छ ।

२०७७ श्रावण ४,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको