एक महिनामै बिग्रिए ६० लाखका दुई पिसिआर मेसिन


साउन ४, काठमाडौं | कोरोना भाइरस परीक्षणको दायरा बढाउन एक महिनाअघि खरिद गरिएका आरटी–पिसिआर मेसिन बिग्रन थालेका छन् । सुर्खेत अस्पताल र कीर्तिपुरस्थित लायन्स क्लबको रक्त सञ्चार केन्द्रमा सञ्चालित मेसिन पड्किएका छन्।

त्रिभुवन विश्वविद्यालयका आनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठीका अनुसार दुई मेसिन कामै नदिने गरी बिग्रिएका छन्। ‘धनगढी, जनकपुरलगायत अन्य स्थानका प्रयोगशालामा पनि समस्या देखिन थालेको छ। मेसिन कहाँ के बिग्रेको छ, कसैलाई चासो छैन,’ डा. त्रिपाठीले भने।

कीर्तिपुर र सुर्खेतमा राखिएका मेसिन एक महिनाअघि ६० लाख रुपैयाँका दरले खरिद गरिएका हुन्। सुर्खेतमा भने मेसिन बिग्रिना साथ नयाँ मेसिन खरिद गरिएको छ। त्यसलाई बनाउनेभन्दा पनि खरिद गरेर हतारमा अर्को मेसिन ल्याइएको छ। प्रयोगशाला संयोजक विश्व भारतीले सुरुमा चलाएको मेसिन बिग्रिएपछि नयाँ खरिद गरिएको बताए। उनले यस विषयमा थप बोल्न चाहेनन्।

कीर्तिपुर नगरपालिकाले खरिद गरेको मेसिन एक हप्ता पनि चलेन । अन्य ठाउँमा पनि नयाँ खरिद गरिएका पिसिआर मेसिनले राम्रो नतिजा नदिएको डा. त्रिपाठीले बताए। ‘जहाँ चलेका छन्, तिनीहरूबाट पनि राम्रो परीक्षण नतिजा आएको छैन,’ उनी भन्छन्, ‘यस्तो कुराले मेरो चित्त दुख्छ। दुई लाखको मोटरसाइकललाई चाहिनेभन्दा बढी स्याहारचाकर गरिन्छ, तर करोडौँका मेसिन सुरक्षित चलाउने विषयमा कसैको ध्यान जाँदैन र एक महिना नपुग्दै कामै नलाग्ने हुन्छ।’

उनका अनुसार दक्ष जनशक्तिविना नै पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएकाले मेसिन बिग्रिन थालेका हुन्। अध्ययन–अनुसन्धानका क्षेत्रमा काम गर्नेहरूलाई मात्रै पिसिआर मेसिनबारे जानकारी हुने गरेको उनको भनाइ छ। ‘पिसिआर मेसिनमा नमुना परीक्षण गर्न सोही ल्याबमा दुईदेखि तीन वर्षसम्म काम गरेको अनुभव आवश्यक पर्छ। तर, नेपालमा जति पनि ल्याबमा अहिले कर्मचारी आबद्ध छन्, उनीहरू तीन दिन तालिम दिएको आधारमा परीक्षण गरिरहेका छन्,’ उनी भन्छन्। परीक्षण गर्दा विशेष ध्यान दिनुपर्ने डा. त्रिपाठीको सुझाब छ।

ल्याब प्राविधिकहरूका अनुसार पिसिआर मेसिनको मुख्य काम भनेको निश्चित सेकेन्डभरमा डिएनए स्याम्पललाई तोकिएको विभिन्न तापक्रममा (९६ डिग्री सेन्टिग्रेडबाट ४ डिग्री सेन्टिग्रेडसम्म), तोकिएको विभिन्न समयसम्म (१५ सेकेन्डदेखि २० मिनेटसम्म) नियमित तताउने र चिस्याउने प्रक्रिया हो। यो प्रक्रियालाई सेन्सरको माध्यमबाट स्क्रिनमा नतिजा डिस्प्ले गर्ने हो। यो अत्यन्तै संवेदनशील हुन्छ। त्यसैले तीन दिन तालिम दिएका कर्मचारीले चलाउन सम्भव नहुने डा. त्रिपाठीको भनाइ छ। नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले यो समाचार लेखेका छन् |

४ श्रावण २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको