‘यसकारण लिम्पियाधुरा नेपालको हो’


जेठ ६, काठमाडौं । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा लिम्पियाधुरा नेपालकै भूभागका रूपमा रहेको थियो ।

सो नक्सामा कालीनदीको शिर लिम्पियाधुरा नै प्रस्ट थियो । भारतले कुवा र खोल्सा बनाएर कालीनदी भनेर अर्कै मानेको विषय नक्साबाट स्पष्ट हुने सीमाविद् हेमन्त सेढाईंको दाबी छ ।

‘भारत आफैंले बनाएको नक्सामा लिम्पियाधुरा आसपास क्षेत्र विवादित भनेको छ । अन्तर्राष्ट्रिय अभ्यासमा विवादित क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन । जताबाट अध्ययन गरे पनि लिम्पियाधुरा नेपालकै हो । यसमा भारतको त्रुटि देखिन्छ,’ सीमाविद् सेढाईंले भने ।

विभिन्न अध्ययनका अनुसार भारतले सन् १८५६ र नेपालले १९७५ पछि मात्र नक्सा बनाउन थालेको हो । त्योभन्दा अगाडि सर्बे अफ इन्डियाले नेपालको नक्सा बनाइदिन्थ्यो । सोही नक्सा नेपालले प्रयोग गथ्र्या । त्यसैले भारतले सन् १९७५ पछि लिम्पियाधुरा हटाएर नक्सा बनाएको थियो । लिम्पियाधुरा नेपालमै रहेको स्पष्ट लेखिएको नक्सा ब्रिटिस लाइबेरीमा रहेको छ । महाकाली नदीको शिर नै लिम्पियाधुरा भन्नेमा चीनले पनि यसअघि नै सहमति जनाइसकेको थियो ।

‘नेपालले सय वर्षको नक्सा भिडाउनेबित्तिकै नेपालको भूभाग थाहा पाइन्छ । यस विषयमा नेपाल डटेर अघि बढ्नुपर्छ,’ सीमाविद् सेढाईंले भने ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा पास

नेपाल सरकारले भारतले एकलौटी कब्जा जमाउने प्रयास गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा पास गरेको छ । आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले ऐतिहासिक कदम चालेको हो ।

नेपाल–अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धिमा नेपालको सीमा कालीनदीको मुहान अर्थात् लिम्पियाधुरा हुने उल्लेख भए पनि भारतले एकलौटी रूपमा अर्कै मुहान खडा गरी त्यसैलाई कालीनदी दाबी गर्दै नेपाली भूभागमाथि अधिपत्य जमाउँदै आएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा पारित गरेको हो ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव गरेको नेपालको अद्यावधिक नक्सा स्वीकृत गरिएको जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको र अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत् रहेको जानकारी दिए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ, संघीयताअनुरूपका प्रदेश र स्थानीय तह समेटिएका छन् । अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत् रहेका छन्,’ उनले भने ।

सरकारले नयाँ नक्सा स्वीकृत गरेसँगै अब नेपालको निसान छाप, सरकारी कामकाज र विद्यालयलगायत सम्पूर्ण क्षेत्रमा भारतद्वारा अतिक्रमित भूमि र देशको संघीय स्वरूप समेटिएको अद्यावधिक नक्सा प्रयोग हुने भएको छ ।

गत २ जेठमा संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्ने प्रतिबद्धता जनाइएको थियो । भारतले गत १६ कात्तिकमा नयाँ राजनीतिक नक्सा जारी गरेर लिम्पियाधुरालाई १८१६ को सुगौली सन्धिको ५० वर्षपछि अतिक्रमण गरेको थियो ।

भारतीय कदमको नेपाल सरकार, संसद्, नेपालको बौद्धिक वर्गदेखि सडकसम्म चर्को विरोध हुँदै आएको थियो । नेपाली भूमिलाई भारतको नक्सामा समावेश गरेर राजनीतिक नक्सा पारित गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको थियो भने नेपाल सरकारले भारतीय कदमको औपचारिक रूपमा नै विरोध जनाएको थियो ।

भारतले राजनीतिक नक्सामा नेपाली भूमि समेटेसँगै संघीय संसद्का संसदीय समितिले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशनसमेत दिएका थिए । नेपाल सरकारले त्यसयता भारतलाई कूटनीतिक नोट पठाएको थियो । भारतले त्यसमा बेवास्ता ग-यो भने नेपालले सीमा विवादबारे परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न दुईपटक मिति प्रस्ताव गरेकामा भारतले त्यसलाई अस्वीकार गरेको थियो ।

पछिल्लोपटक भारतले पुनः लिपुलेक छुने गरी सडक उद्घाटन गरेपछि विवाद पुनः चर्किएको हो । भारतले नेपाल सरकारसँगको समन्वय र सहमतिबिनै तिब्बतको मानसरोवर जान लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै बनाएको सडक उद्घाटन गरेको थियो ।

नेपाली भूमिमा सडक उद्घानपछि सरकारले पुनः नेपालका लागि भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट थमाएको थियो । भारतले त्यसलाई पनि बेवास्ता ग¥यो भने कूटनीतिक तहबाट हल गरिनुपर्ने विवादमा भारतीय सेना प्रमुखबाट नेपाललाई थ्रेट हुने गरी अभिव्यक्ति सार्वजनिक भएको थियो । नेपालले तत्काल वार्तामार्फत समाधान खोज्न आग्रह गरेकामा भारतीय पक्षले कोरोनापछि वार्ता गर्न सकिने जनाउ दिएको थियो । त्यसको प्रतिउत्तरमा नेपाल सरकारले कोरोनापछिसम्म पर्खन नसक्ने जवाफ दिएको थियो ।

भारतको बेवास्ता र नेपाली भूमि कब्जा गरिरहेको अवस्थामा सरकारले भने ऐतिहासिक कदम चाल्दै आफ्नो भूमि समेटिएको नक्सा पारित गरेको हो । यसअघि १५ मे २०१५ मा भारत प्रस्तावमा भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापार नाका बनाउने सहमति गरेका थिए । सो सहमतिमा पनि नेपालले आफूलाई नसोधी आफ्नो भूमिलाई व्यापार नाका बनाएको भन्दै विरोध जनाउँदै आएको थियो ।

यस्तो छ विवादको जड

सुगौली सन्धिअनुसार नेपालको सिमाना लिम्पियाधुरा अर्थात् कालिनदीसम्म हो । तर, भारतले सन् १८५६ देखि विभिन्न नक्सा जारी गर्दै कालीनदीको नाम परिवर्तन गरी कुटियाङदी लेख्न थालेको पाइन्छ ।

नेपाली भूमि कालापानीमा ६० वर्षदेखि भारतले आफ्नो सेना राख्दै आएको छ । सन् १९६२ मा भारत–चीन युद्ध भएपछि सामरिक स्वार्थ देखेर भारतले कालपानीमा इन्डो तिब्बत बोर्डर पुलिस फोर्ससमेत राख्दै आएको छ ।

सीमाविद्का अनुसार कालापानीमा फौज राखेपछि भारतले ब्यारेकभन्दा पूर्व एउटा सानो काली नामको मन्दिर र कुण्ड बनाएर त्यहीबाट बग्ने कुलोलाई नक्कली कालीनदी भन्दै नक्सासमेत जारी गरेको छ ।

भारतले त्यसैलाई सीमा हो भनेर एकलौटी रूपमा क्रियाकलाप अगाडि बढाउँदै आएको छ । नेपालले भने सुगौली सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने कालिनदी नेपालको सिमाना रहेको प्रमाण जाहेर गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

६ जेष्ठ २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको