रोल्पामा कोरोना संक्रमणबाट बच्न १२ कक्षा पढ्ने युवाले बनाए खुट्टाले खोल्ने धारा


बैशाख ७, रोल्पा । रोल्पाका एक युवाले खुट्टाले खोल्ने धारा निर्माण गरेका छन् । कोरोना भाइरसको जोखिम बढिरहेका वेला उनले खुट्टाकाे सहायताले साबुन प्रयाेग गर्न मिल्ने र र खुट्टाले खुल्न सकिने धारा निर्माण गरेका हुन् ।

विज्ञान विषयमा १२ कक्षा अध्ययनरत रोल्पा नगरपालिका– २ मा बस्दै आएका २१ वर्षीय दानबहादुर घर्तीमगरले त्यस्ताे धारा बनाएका हुन् । कोरोना भाइरस रोकथामका लागि बारम्बार हात धुनु पर्ने भएकाले पानीको धारा सुरक्षित हुनुपर्ने भन्दै त्यस्ताे धारा बनाएको उनले बताए ।

‘कोरोना भाइरस धेरै फैलिन सक्ने स्थान पानीको धारा पनि हो,’ दानबहादुरले भने, ‘हात जति सफा गरे पनि सुरुमा पानी खोल्न छोएको धारा फेरि बन्द गर्दा छुनुपर्ने र जसले गर्दा पुनः कीटाणु छोइने भएकाले यस्तो बनाएको हुँ ।’

कम लागतमा निर्माण

खुट्टाले खोल्ने धारा करिब २० हजारमा निर्माण हुन्छ । विद्युतविना सञ्चालन हुने धारा ग्रामीण भेगमा निकै भरपर्दो हुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । आफूहरूले नगरपालिकामा पनि उक्त धारा स्थापना गर्ने केसीको भनाइ छ । सत्प्रयास समूहको समन्वयमा निर्माण गरिएको धाराको सम्पूर्ण लागत मिलन ग्रिल उद्योगका मिलन डाँगीले व्यहोरेका थिए । युवाको प्रयासलाई सार्थक बनाउन र अहिलेको अवस्थामा धारा निकै उपयुक्त लागेर आफूले लगानी गरेको डाँगीले बताए ।

रोल्पा अस्पताललाई हस्तान्तरण

मगरले निर्माण गरेको सो धारा जिल्ला अस्पताल रेउघालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरणपछि रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले धेरै जोखिम क्षेत्रको रूपमा रहेको अस्पताललाई प्राथमिकता दिई खुट्टाले खोल्ने धारा हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरिन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले युवाहरूको यस्तो रचनात्मक प्रयासले मानवजीवनमै महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विभिन्न किसिमका बिरामीहरू आउने भएकाले रोल्पा अस्पतालमा धारा निर्माण गरिएको सत्प्रयास समूहका अभियन्ता काशीराम डाँगीले बताए । धारा निर्माण अवधारणाकर्ता दानबहादुर घर्तीमगरले आफूलाई साथ र सहयोग भए यस्ता धेरै कुराको आविष्कार गर्न सकिने बताए । आर्थिक अवस्था कमजोर भएकाले आफूले चाहेजस्तो विकास अवधारणा अगाडि बढाउन नसकेकोसमेत दुखेसो गरे ।

कोरोनाजस्ता जोखिमयुक्त भाइरसबाट बच्न खुट्टाले खोल्ने धारा महत्वपूर्ण भएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीमगरले बताइन् । यो खबर नविन लोचन मगरले नयाँ पत्रिकामा लेखेका छन ।

७ बैशाख २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको