बैशाख ७, न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोना महामारीले तिब्र रुप लिएपछि त्यहाँको स्थानीय प्रशासनले कडा नियम जारी गरेको छ ।
न्युयोर्कका गभर्नर एन्ड्रयु कुओमोले शुक्रबार एक विज्ञप्ती जारी गरी अब प्रत्येक नागरिकले आफ्नो अनुहार छोप्नैपर्ने कडा निर्देशन जारी गरेका हुन् । उनले प्रत्येक नागरिकले मास्क लगाउन र सार्वजनिक ठाउँमा रहँदा अनिवार्य अनुहार छोप्नुपर्ने निर्देशन जारी गरेका छन् ।
विज्ञप्तिमा सामाजिक दुरीलाई पनि कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिइएको छ । यो नियममा २ वर्षभन्दा मुनिका बालबालिकालाई भने छुट दिइएको समाचार एजेन्सी एपीले जनाएको छ ।
यसअघि गभर्नर कुओमोले १५ मेसम्मका लागि सबै नागरिकहरुलाई घर बाहिर ननिस्कन आह्वान गरेका थिए । उनले यसअघि यो विषयमा उत्तरपूर्वी राज्यहरुसँग छलफल गरेर अघि बढ्ने अर्को महिना समीक्षा गर्ने बताउँदै आएका छन् । यो विषयमा गभर्नर कुओमो र राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा मतभेद देखिँदै आएको छ ।
ट्रम्पले न्युयोर्कमा आर्थिक गतिविधिलाई खुकुलो पार्नुपर्नेमा जोड दिँदै आएका छन् भने गभर्नर कुओमोले महामारी सामान्य नभएसम्म प्रतिबन्ध फुकुवा गर्न नहुने बताउँदै आएका छन् । उनको यो अडानमा उत्तरपुर्वी राज्यका गभर्नरहरुले समेत साथ दिएका छन् ।
राष्ट्रपति ट्रम्प र गभर्नरहरुको यो टक्करलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । राष्ट्रपति ट्रम्प न्युयोर्क र उत्तरपूर्वी राज्यका जनताहरुको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप गभर्नरहरुले लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म संक्रमणका कारण ३८ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमित हुनेको संख्या ७ लाख बढी पुगेको छ ।
प्रतिक्रिया दिनुहोस