कोरोनाको कहरले मिलाएको दम्पति !


कीर्तिपुर शहरको एक कुनामा एउटा सानो परिवार बस्छ । सन्तानको शिक्षादीक्षाको खोजीमा हिडेको त्यो परिवार रोल्पाको बिकट गाउँबाट २०६८ सालमा सपनाको शहर राजधानी छिर्यो । एक छोरा र एक छोरीको वरदान पाएको त्यो जोडीले राजधानीको खाल्डोमा निकै संघर्ष गर्यो।

अनवरत संघर्ष पछी आत्मनिर्भर सानो बासस्थानको पनि जोहो गर्यो । जो अथाह संघर्षको परिणाम थियो।

केहि मिठा, अनि केहि तिता दिनहरुले स्पर्श गर्दै उपत्यकाको खाल्डोमा नवौं बर्षहरु बित्दै थिए । आमा र बाबाले सन्तानको लागि खोजेको शिक्षा निरन्तर पुरा हुँदै गयो।

भनिन्छ गरिवीको आँखीझ्यालबाट चियाएको सपना निकै बिशाल हुन्छ । बिकट त्यो गाउँबाट नजर अन्दाज गरेको त्यो जोडीको सपना साँच्चै बिशाल थियो।

जुन जोडीको परिवर्तित नाम हो नवराज क्षेत्री र सपना क्षेत्री ।

१५ बर्ष अघि मिलन भएका नवराज र सपना शहर पसेपछि एकरथका पाङ्ग्रा बनेर जिन्दगिको रथ हाँकी रहे । सघर्षका प्रत्यक पाइलाहरुमा दुवै जना एकअर्काका सहयात्री बने । उनीहरुलाई शहरले लखेट्न खोज्थ्यो, पाखे भनि हेंला गर्थ्यो तर उनीहरु अडिक रहे । अनवरत सन्तानको भबिस्य खोजिरहे ।

दुख र संघर्षले एकअर्का प्रति झनै गाढा प्रेम पलायो । नवराज सुनाउछन, पहिलो देखा भेटमै भागेर बिबाह भयो । त्यसअघि प्रेम गर्न पाएनौ ।

आखिर समयको खेल न हो । मानिसले देख्ने सपना असिमित हुन्छन । जति देख्दै र चुम्दै गयो, उति धेरै देख्न र चुम्न महत्वकांक्ष जाग्दो रहेछ र त्यही महत्वकांक्षले बिचारहरु बिच टकराव पैदा गर्दो रहेछ । मानिसहरुका चाहा जति बढ्दै गए, उति पारिवारिक वैमनस्यता बढ्दै जाँदो रहेछ । जति सुख हुँदै गयो उति धेरै सम्पन्नता खोज्दै जाँदो रहेछ । जति धन दौलत कमाउदै गयो उति धेरै कमाउने चाहा बढ्दो रहेछ ।

खासगरी सुबिधा र सुखले व्यक्तिगत महत्वकांक्षका घेराहरु तोड्ने इक्छाहरु जागृत हुँदा रहेछन, अनि इक्छा र चाहानाहरु असिमित हुँदै जाँदा मनहरु बाँझिदा रहेछन ।

यसरि त्यो जोडीमा बिस्तारै दुविधाहरु उत्पन्न हुँदै गयो । प्रेमको सानो नगरीमा यो जोडीले आफुले आफुलाई नियालेर हेरेन, बरु एकले अर्कालाई नियालेर चियो गर्न थाल्यो । जब मानिसले अरुको चियो गर्छ त्यहाँ अथाह समस्याको भण्डार देख्छ । त्यहाँ नैतिकता पनि धमिलो देखिन्छ । ब्यबहार र शैलीमा चटक देख्छ । तिब्र दम्भ, घमण्ड र महत्वकांक्ष भेट्छ ।

यस्ता ब्यबहार र आचरणहरु संकास्पद नजरले नजिर गर्दा आपसमा फरक दृष्टिकोण उत्पन्न भयो । यान्त्रिक बुझाईहरुले नियत दृष्टिबाट एकले अर्कोलाई हेर्ने र बुझ्ने चेष्टा हुन थाल्यो । अनि त्यसपछि अलिकति स्वतन्त्रता ! अलिकति उदारता ! अलिकति अधिकार ! अलिकति पुरुस्वत्व ! अलिकति लैंगिकता ! अलिकति नैतिकताका प्रश्नहरु तेर्सिए ! जुन प्रश्नहरुले उनीहरुको दुरीलाई टाढा-टाढा पुर्याउदै थियो ।

यी सबै नजरहरु एकले अर्कोलाई हेर्न अभ्यस्त भए तर त्यहि नजरले आफुलाई हेर्ने चेष्टासम्म भएन । सायद आफुले आफुलाई नजिर गर्न सकेको भए यी सबै समस्याका भण्डारहरु नामेट हुन्थे । सुन्दर हेराई जीवित रहन्थ्यो । संकाले लंका जलाउदैन्थ्यो ।

हुन त एउटा सामाजिक उखान छ, ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ हो । लोग्ने  र स्वास्नी बिच हुने झगडा एकैछिन साम्य हुन्छ । घर ब्यबहारमा हुने सामान्य कलह क्षण भरमै प्रेममा बदलिन्छन ।

यो लोकमा समस्या रहित मानिसहरु कोही हुँदैन । नयाँ सम्भाबनाहरुसँग खेल्ने मानिस जातिसंग समस्या आउनु स्वभाविक प्रक्रिया हो । जुन समस्याले सम्भावना चुमिरहेका हुन्छन ।

यस्तै गतिशील जिबन्त प्रक्रिया नबुझ्दा धेरै जोडीहरु टुटेका छन् । पछिल्लो चरण नेपालमा सम्बन्ध बिच्छेदको समस्या निकै बढेको छ । जसको सबै भन्दा प्रभाव बैदेशिक रोजगारमा रहेकाहरुको बढी देखिन्छ । समस्याको अन्तिम बिकल्प सम्बन्ध बिच्छेद देख्नेहरु जिबनको साइनोलाई टुटाई छोड्छन् ।

यसरि नबराज र सपना बिच गतबर्ष देखि यस्तै टाक्क टुक्क बिच एकअर्काका मनहरु अलि धेरै पुर्वाहग्रही बन्दै गए । जतिबेला एकले अर्कोलाइ बुझ्ने प्रयास शुन्य रह्यो र आआफ्नै आडम्बका कारण तिन महिना अघि छुट्टा-छुट्टै बस्ने निधो गरे ।

जति बेला प्रेम नगरीको एउटा बिशाल सपना टुट्दै थियो । चेत खुल्न थालेका दुई सन्तानको मानसपटलमा बिछोडको क्षणले बालाहृदय दुखायो।

आमा र बाबा आ-आफ्नै जबमा ब्यस्थ भए । एकले अर्कालाई हेर्न र सुन्न नसक्ने भए । उनीहरु आ-आफ्नै स्वामित्वमा बाँच्न चाहान्थे तर छोरा र छोरीले बाबा र आमा संगै भएको र दुवै जनाको न्यानो काखमा खेल्न र हुर्किन चाहान्थे ।

तर छोरा र छोरीले आफ्ना आमा र बाबाबाट एउटा सम्मान गुण पाए । छोरा छोरीले आमा बाबालाई भेट्न दुवै जनाबाट कुनै रोकतोक भने भएन।

सम्बन्ध बिच्छेदको अन्तिम संघारसम्म पुगे । न्यायका लागि अदालतको ढोका ढकढकाए । जान्ने सुन्ने पन्च प्रधानलाई समेत पुकारे । जतिबेला कोरोना भाइरस नेपालमा पनि भित्रियो ।

विश्व जगतले कोरोनाको कहर भोग्न थाल्यो । त्यसको प्रभाव नेपालमा पनि पर्न थाल्यो । सरकारले कोरोना बिरुद्द लड्न लकडाउन लागु गर्यो । मानिसहरु घरभित्रै लक भए । संसारमा कोरोना भाइरस सामु सम्पन्नशाली राष्ट्रहरु निरिह बन्दै गए । पैसाले सबथोकको निराकरण गर्छ भन्ने सोंचहरु फेल भए ।  धनसम्पत्तिका लागि विदेश पस्नेहरु घरफर्किन थाले ।

कोरोनाको कहरले तबाह मच्चाई रहेको बेला, हिजो आगो बनेर टुट्न थालेका मनहरु शिथिल भए । नबराज र सपनाको आत्माले समिक्षा गर्यो र जिन्दगी दूई दिनको न हो । एकलै बाँच्नुको के अर्थ । छोराछोरीको हृदय रुवाएर बाँच्नुको के सार्थक । यस्तै यस्तै सकारात्मक सोंचहरुले आफैलाई हेरेर समिक्षा गर्न थालेपछि दुवै जना नयाँ साल २०७७ को पहिलो दिन मिलन भए ।

सायद दुवैजना काममा व्यस्त हुन्थे भने जिन्दगीको कथा र सन्तानको भबिस्यलाई नियाल्ने मौका मिल्दैनथ्यो । लकडाउनले व्यस्त मानिसहरुलाई परिवारसंग घुलमिल हुने वातावरण दियो, फलस्वरूप जिबनलाई फर्केर हेर्ने अवसर पाए ।

मिलन हुँदाको दिन सपनाले नबराजलाई एक गिलास पानी टक्र्याइन । जतिबेला नबराजका आँखाबाट आँशु तप्प खस्यो । सायद उनले बिगतलाई सम्झिए, एक्लो हुँदाको पिडालाई स्मरण गरे । सपनाले आँसु पुछिदीईन र अँगालोले कसिन । नजिकै उभिएर नियाली रहेका छोरी र छोराले हर्षको आँशु खसाल्दै, दौडेर आए अनि बाबा र आमालाई केहीबेर अंगालोमा बाँधी रहे ।

यसरि तिन महिना अघि बिछोडिएका आमा-बाबाको जिबनको मिलन भयो । बिशाल सपनाहरु जीवित रहे । संगै ज्युने र संगै मर्ने अठोट लिए ।

नबराजले सम्झिएको जिन्दगीको एउटा मिठो कथा छ । सपनासंग भेटभएको पहिलो दिनमै भागि बिबाह भयो, यदि त्यो दिन बिबाह हुँदैनथ्यो त, तिन दिनपछि सपनाको मागी बिबाह हुँदै थियो । यसरी बाल-बालमा मिलन भएको यो जोडी १५ बर्ष पछी पनि झन्डै बिछोडको संघारमा पुग्यो तर बाल-बालमा बच्यो । मिलनको एकपलले जिन्दगीभरी बाँधोस यहि शुभकामना छ ।

यो जोडीले मिलनको श्रेय कोरोनाको कहरलाई दिए, ‘कोरोना तिमीलाई धन्य छ भन्न सकिदैन, तिमीले दिएको ‘कहर’लाई धन्य छ, तर अब तिमि यो देशबाट टाढै होईजाउ, बिछोड हुनेको मिलन भैसक्यो ।’

 

२०७७ बैशाख ७,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको