दुबईमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना


चैत ६, काठमाडौँ । दुबईमा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने,आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू नगर्न दूतावासले आग्रह गरेको छ ।

बुधबार बसेको नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यराती देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेकोले उक्त कार्य नगर्न दूतावासले आग्रह गरेको हो ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू तत्कालका लागि नगर्नुहुन नेपाली राजदुतावास,अबुधाबी अनुरोध गर्दछ ।’

त्यस्तै युएइको पहिचान र नागरिकताको लागि संघीय प्राधिकरण (Federal Authority for Identity and Citizenship)को सूचना अनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि हाल दुईहप्ताका लागि आगमन निषेध गरिएको समेत दुतावासले जानकारी दिएको छ ।

यो पनि पढ्नुस 

अस्ट्रेलिया र न्युजिल्याण्डमा विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध

देशमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना देशमा विदेशी नागरिकलाई देशभित्र प्रवेश गर्न प्रतिबन्धको घोषणा गरेको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा अर्डर्नले बिहीबार पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएकी हुन् । ‘न्युजिल्याण्डका जनतालाई कोभिड–१९ को संक्रमणबाट बचाउन हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो । विश्वका अन्य भागमा भाइरसको संक्रमण फैलिरहँदा हामीले हाम्रो सीमा नियन्त्रणमा सशक्त कदम लिनुपर्ने प्रष्ट भएको छ । आजको निर्णयले कुनै पनि पर्यटक वा अस्थायी भिसा लिएका विद्यार्थी वा कामदारहरुलाई न्युजिल्याण्ड प्रवेशमा रोक लगाउने छ ।’

यो नियम प्यासिफक आइल्याण्ड र अस्ट्रेलियाका नागरिकहरुमा पनि लागु हुने बताइएको छ । अस्ट्रेलियाका नागरिकहरु बिना भिसा दुई देशमा आवतजावत गर्न पाउँछन् ।

न्युजिल्याण्डमा हिजो ८ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । फेला परेका नयाँ संक्रमित सबै बाहिरबाट आएकाहरु भएको जानकारी दिइएको छ ।

उता, अस्ट्रेलियाले पनि भोलिदेखि विदेशी र गैरअवासीयहरुलाई आफ्नो देशभित्र प्रवेशमा रोक लगाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मरिसनले जानकारी दिए । मोरिसनले भोलि साँझ ९ बजेदेखि यो नियम लागु गरिने जानकारी दिए ।

उनले यसका लागि न्युजिल्याण्डकी प्रधानमन्त्रीसँग छलफल गरिएको र सँगै यात्रा प्रतिबन्धको निर्णय लिइएको पनि जानकारी दिए । विदेशमा रहेका अस्ट्रेलियाली नागरिक स्वदेश फर्कन पाए पनि उनीहरु देशमा फर्किएपछि १४ दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

अस्ट्रेलियामा हिजो एकै दिन १११ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा संक्रमितको सङ्ख्या ५६५ पुगेको छ । यसमध्ये २५९ विदेशबाट आएकामा देखिएको जनाइएको छ । ५६५ मध्ये ४६ जना निको भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

२०७६ चैत्र ६,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको