एमसिसीलाई कुनैपनि हालतमा फिर्ता जान दिन हुन्न: सभापति देउवा

फाइल तस्बिर

माघ ५, दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई पार्टीले पूर्ण समर्थन गर्ने बताएका छन्।

नेपाल प्रेस यूनियन दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले एमसिसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई फिर्ता जान दिन नहुने बताए।

‘एमसिसी म प्रधानमन्त्री हुँदा क्याबिनेटले पास गरेको कुरा हो’ देउवाले भने ‘अमेरिकाको यत्रो ठूलो रकम पहिलो पटक नेपालमा आएको हो, त्यसैले एमसिसी नेपालका लागि धेरै महत्वपूर्ण छ।’ कुनै पनि हालतमा यति ठूलो सहयोगको पैसा फिर्ता जान दिन नहुने मान्यतामा नेपाली कांग्रेस रहेको देउवाले बताए। देउवाले भने ‘मलाई विश्वास छ, अहिलेको सरकारले पनि त्यसलाई अगाडि बढाउने छ।’

नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को सम्झौता नेपालको विकासको लागि महत्वपूर्ण रहेको देउवाले दाबी गरे।

एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले बताए। बुटवलदेखि नयाँ दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए।

त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्ने बताए। अहिलेको सरकारले कुनै पनि त्यस्तो उल्लेखनीय काम गर्न नसकेको देउवाको आरोप छ। ‘सरकारले दुई वर्षमा गरेका दुईटा काम देखाउनुस न’ उनले भने ‘सरकारले भ्रष्टाचार बढाएको छ, उपभोक्ता समितिको नाममा लुट भइरहेको छ।’

उनले सरकारका गलत कामको प्रतिपक्षीले सदनवाट विरोध गर्दै आएको बताए। ‘काँग्रेस कहाँ चुुप लागेर बसेको छ,’ देउवाले भने ‘तपाईले भोट हाल्ने बेला एमालेलाई हाल्ने अनि आज काँग्रेसलाई चुप लागेको छ भन्ने? टिभी हेर्नु हुन्न कि क्या हो।’

त्यस्तै फरक प्रसङ्गमा देउवाले आफूले काम चलाउनका लागि प्रदेश नं. ५ को अस्थायी राजधानी त्यतिबेला बुटवल तोकेको भएपनि त्यो स्थायी नभएको हुँदा अहिलेको सरकारले आवश्यक ठाउँमा सार्न सक्ने बताए।

२०७६ माघ ५,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको