लामो दूरीका सवारी साधनमा यात्रुको संख्या न्यून

फाइल तस्बिर

कार्तिक २, काठमाडौं । घटस्थापना सुरु भएपनि दशैँमा घर फर्कने यात्रु नहुँदा लामो दूरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन।

काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन। सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ। तरपनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ।

अघिल्ला वर्षहरुमा दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो। अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो। तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन्। लामो दूरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ ।

कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ। तरपनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ।

सरकारले पुरानै भाडादर कायम गरेपनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन्। बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढ्न नमान्ने गरेको चालकहरु बताउँछन्।

बसमा यात्रा गर्ने यात्रुहरु पनि असुरक्षित महसुस भएको बताएका छन्। सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरैरै भएपनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ। यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइराखेको यात्रुहरु बताउँछन्।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिँ नै दशैँ मनाउन आग्रह गर्दै आएका छन्। त्यसैले पनि यसपटकको दशैँमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन्।

२ कार्तिक २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको