म त्यहीं हुनेछु, जहाँ छोडेका थियौ


निर्मल प्रेमको अविरल सम्झना !
आज म प्रेम पत्र कोर्दैछु हजुरको लागि तर खोई कहाँबाट सुरु गरु हरपल हजुरको सुन्दर प्रतिविम्ब मेरो नजर वरिपरि घुमिरहन्छ । यो मेरो प्रेम कथाको कुनै अर्थ र मान्यता हुन्न होला तैपनि यो मनको भावनाहरू हजुर सामु मैले व्यक्त गर्नु नै पर्छ ।

मेरी सपनाको राजकुमार मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले हजुरको विशाल हृदयलाई भरिदिन काफी छ । मलाई वचन देउ र आफ्नो पत्रमा वा इमेल, उई च्याट, भए पनि प्रेमका मीठामीठा सपनाहरू कोरेर पठाऊ । यदि यसो गर्न उचित देख्दैनौँ भने मेरी मायालु मलाई सिधासिधा आफ्ना मीठा भावना भनिदेउ आफ्नो हृदयको ढोका खोली देउ नत्र इन्टरनेटबाट नै भए पनि मलाई उत्तर देउ ।

हो राज, जबदेखि हाम्रो कुरा हुन थाल्यो जबदेखि त्यसपछिका हरेकपलहरू हाम्रालागि त्यति नै महत्वपूर्ण छ, यसका साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएका छौँ । मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ हजुर अर्कै तिर गन्तव्य पनि छुट्टिन लागेको हुन सक्छ । ‘तैपनि म हेर्दछु टाढासम्म हजुर मुस्कुराएर अघि बढ्दै जानु म हजुरको छायाँ देखिञ्जेलसम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडेपछि भित्री आत्माले हेरुलाँ, हजुर बाँचुञ्जेलसम्म, आकाश धर्ती रही रहेसम्म … यदि अघि बढ्न सकिनौ भने पुनः पछाडि फर्कनु जहाँ उही हजुरको जीवन यात्रामा सहयात्रीको भूमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यहि ठाउँमा रहिरहनेछ अनि हजुरलाई प्रतिक्षामा कुरिरहने छ ।’

त्यो हजुरको मुटुमाझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको बीउ रोपीसकेको छु । हजुरविनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले हजुरसमक्ष जीवन,हजुर मायाको भिख मागिरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात फर्काउने छैनौँ । हजुर मेरो हृदयमा अजम्बरी भइबसेक छौ ।

हजुर त्यो अतुलनीय एवं अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगीतजस्तो हजुरको बोली अनि फक्रिएको गुलाफजस्तो हजुरको रूपले पहिलो फेस्बुका भेटमा नै मलाई मोहनी लगाएको छ जुन दिन हजुरलाई देखेँ ।

जतिबेला हजुरलाई अँगालोमा बाँधेर न्यानो मायाको अनुभूति पाएँ सोहि दिनदेखि मेरो मनमस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई हजुरसामू छर्लंग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र हजुरको लागि प्रिय बन्नेछ ।

कताकता डर पनि लाग्दै छ । अब हजुर नै अनुमान गर म हजुरको मायामा कति गलिसकेको छु । म हजुरको प्रेमको खातिर आफुलाई नै बिर्सिसकेको छु । सम्झन्छु त म हजुरको चन्द्रमाझैँ हँसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई संधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल हजुरसँग । हजुरको अनुपस्थितिमा मेरो दोस्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि ‘म हजुरलाई धेरै माया गर्छु आत्मिक माया, हार्दिक माया’ हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनीसम्म पनि रहिरहनेछ ।
उही हजुरकी सबिना

२०७७ आश्विन २,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको