मौरी झिंगा पुतली

याङो श्रो मगर


आवाज सुरिलो छ
कुरा तार्किक छन्
सबै जसो ….ज्यूको
भाषण, प्रवचन र प्रभु वचन यस्तै हुन्छ ।
उनिहरूलाई
मान्छेको नाम प्यासको आश
मुक्तिको अफिमे मनोदशा थाह छ ।
माहुरीहरूलाई झिंगामा बदल्ने
राजनीतिक इन्द्रजाल भित्र
महाजाल बुन्न माहिरका अघिपछि
हामि झिंगा केहि नदेखि
कराउने रमाउने पछ्याउने पुर्खौ देखि।
किनकि
तिनलाई थाह छ:
कुहिएका मिठा गुलिया ललिपमा
मख्ख पर्ने झिंगे मनोविज्ञान।

अच्चम्म त यो छ कि
मान्छे अाशवासनको नशामा
धेरै दिन एकछाक खाना
एकसरो लुगामा
गुनासो नगरी कयौंँ दिन काम गर्न सक्छ।
उस्लाई के थाह
उस्को एक-एक छाकबाट भकारी खोसिएको,
सेकेन्ड-सेकेन्ड पलाबाट समय खोसिएको
लोलोपोपोमा जीवन संभावना लुटिएको
अनि
मैारीबाट झिंगामा बदलिएको।

मान्छेहरू
किन ? उजुरी गरून
किन ?? निवेदन गरून
देवता माथि प्रश्न हुदैन विश्वास पो हुन्छ।
मालिक माथि किन हुदैन हजुर पो हुन्छ।
भाषणको तार्किक मनोविज्ञानमा
यस्ता दिप बाल्छन
जहाँ म अनि तपाई
पुटला भई
आफैलाई लुटाउन
होडबाजीमा तछाडमछाड गर्दै
पाखुरी मुसार्दै
एक अर्काको कठालो समाउदै
हाम्रा पखेता पोल्छौँ ।
अनि कोहि कोहि थाह पाउँछन्
मौरीबाट झिंगा अनि पुतली हुँदै कठपुतली भई
तालातुली पुतली भएको ।

-याङो श्रो मगर

२ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको