कोरोना मुक्त हुँदैछ प्रदेश–५


साउन ३, बुटवल । देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश–५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ । उच्च जोखिममा गनिएको यो प्रदेश निको भएर घर फर्किने दर ९१ प्रतिशत छ । देशभर यस्तो दर ६६ प्रतिशत मात्रै छ ।
देशभर सङ्क्रमणको दर छ प्रतिशत हुँदा यो प्रदेशमा आठ प्रतिशत थियो तर यही प्रदेश विशेष सावधानीका कारण कोरोना मुक्त हुँदैछ । यो प्रदेशमा सङ्क्रमित चार हजार ९८ मध्ये तीन हजार ६३७ जना निको भएर घर फर्किसकेका छन् । अब निको हुन ३७७ जना मात्र बाँकी छन् ।

प्रदेश–५ सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना सङ्क्रमणबाट ४० को मृत्यु भएकोमा यो प्रदेशमा मात्रै १३ को मृत्यु भएको छ । गत जेठ १० गते प्रदेश प्रमुख धर्मनाथ यादवले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा आगामी साउनसम्म कोभिड सङ्क्रमण स्थिर बनाउँदै समृद्धिको यात्रा पुनः थाल्ने उल्लेख थियो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार विशेष सावधानीका कारण त्यो भन्दाअघि नै प्रदेशमा कोरोना निर्मूल हुने सम्भावना बढी छ । मन्त्री बरालका भनाइमा त्यसका लागि कोरोना सङ्क्रमण सम्भावित दोस्रो चरणको सामना गर्ने पूर्ण तयारी पनि भएको छ ।
खुला सीमाका कारण अति जोखिममा रहेको यो प्रदेशमा सुरुमा कुनै सङ्केत नदेखिए पनि भारतबाट अनियन्त्रित र अवैध तरिकाले छिरेका कारण वैशाख २२ गतेदेखि एकाएक सङ्क्रमण बढेको थियो । हट स्पटका रूपमा देखापरेका कपिलवस्तु, बाँकेसँगै क्रमशः सबै जिल्लामा सङ्क्रमण फैलिएको थियो ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्करप्रसाद चौधरीका भनाइमा पछिल्ला दिनमा कपिलवस्तु, बाँकेसँगै प्यूठान, पश्चिम नवलपरासी लगायतका जिल्लामा कुनै सङ्क्रमित थपिएका छैनन् । यो समाचार गोरखापत्र अनलाइनमा छापिएको छ |

३ श्रावण २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको