वैशाख ६, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर २७ दिनपछि घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।
आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
यसैगरी मन्त्रालयले संक्रमितको परिवारलाई मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर टेस्ट गरेपनि उनीहरुमा भने नेगेटिभ देखिएको थियो ।
यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये २ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस