यूरोपेली देशसँगको हवाई उडान बन्द


चैत ५, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले सबै यूरोपेली देशसँगको हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यूरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरको हो।

यो निर्णय मार्च २० देखि अप्रिल १५ सम्म लागू हुने समितिले जनाएको छ।

यसअघि सरकारले विभिन्न देशबाट आउने विदेशीलाई अनअराइभल भिसा नदिने निर्णय गरेको थियो। अतिआवश्यक कामका लागि आउन परेको खण्डमा भने मेडिकल रिपोर्ट अनिवार्य गरेको थियो।

यस्तो छ हवाई यात्रासम्बन्धी सरकारको निर्णय

१) आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानूनबमोजिम भिसा नियमित गरिदिने। यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।

२) यूरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातीदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने। यस सम्बन्धी सूचना विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमा संप्रेषण गर्ने।

३) कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभलर एडभाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैं उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने। यस कार्यको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।

५ चैत्र २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको