चैत ५, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्ण रूपमा रोक लगाएको छ ।
मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान थालेपछि बुधबार (आज) बाट १४ दिनका लागि विदेशीलाई प्रवेशमा रोक लगाइएको हो । यसअघि कतार र साउदी अरबले पनि नेपाली श्रमिकको आवतजावतमा रोक लगाइसकेका छन् । यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
मलेसियाले विदेशीको प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि जाने कामदार रोकिएका छन् । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका प्रमुख उमेश बस्नेतले मलेसिया जाने नेपाली श्रमिक केही दिनका लागि रोकिएको बताए ।
१ वर्षभन्दा लामो समय रोकिएको मलेसियाको रोजगारी ३ महिनाअघि मात्र खुलेको थियो । विभागको फागुन महिनाको तथ्यांकमा मलेसिया जान लगभग ११ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।
विगत ३ महिनाको तथ्यांकमा ३२ हजार नेपाली मलेसियामा रोजगारीमा गएको देखिन्छ । मलेसिया जान मात्र दैनिक ३६५ युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यही तंथ्यांकलाई आधार मान्दा आगामी १४ दिनमा लगभग ५ हजार नेपाली मलेसिया जान पाउने छैनन् भने सोही संख्यामा नेपाल फर्कन पाउने छैनन् ।
मलेसियामा पछिल्ला केही दिनमा कोरोना रोग संक्रमित व्यक्तिहरूको संख्या बढेर सोमबारसम्म ५५३ पुगेको जनाउँदै नेपालसहित विदेशीका लागि प्रवेश र प्रस्थानमा रोक लगाएको हो । मलेसिया सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले १८ मार्च (फागुन ५) देखी १८ फागुनसम्म सम्मको लागि नयाँ नियमहरू लागू गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
मलेसियाका अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी निकायहरू बाहेक अन्य सबै सरकारी कार्यालयहरू बन्द गरेको छ । “मलेसिया आउने सबै विदेशी नागरिक हरूलाई मलेसिया प्रवेशमा १८ मार्चदेखि ३१ मार्च २०२० सम्म पूर्ण रोक लगाइएको छ,” नेपाली दूतावासद्वारा जारी सूचनामा भनिएको छ । मलेसियाली नागरिकहरूलाई समेत विदेश जान रोक लगाईएको त्यहाँको सरकारले जनाएको छ ।
नेपाल फिर्ता जान चाहनेको हकमा हालसम्म रोक नलगाइएको जनाइएको छ । मलेसियामा हाल दैनिक उपभोगका सामग्री र सेवा पाउने पसल, सुपरमार्केट, औषधि पसल, अस्पताल, यातायात, प्रहरी लगायतका जमघट, भेला हुने क्षेत्र कलेज, विद्यालय, विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरू समेत बन्द गरिएका छन । महत्वपूर्ण सेवा दिने निकायहरू भने खुला रहने जनाइएको छ ।
मलेसिया सरकारले सार्वजानिक सेवा बन्द गरेपछि त्यहाँस्थित नेपाली दूतावासले समेत सेवा प्रवाहमा ६ फागुनदेखि १८ फागुनसम्मको लागि दूतावासको केही सेवाहरू स्थगित गरिएको जनाएको छ । तर अत्यावश्यक वा विषेश परिस्थितीमा केही सेवाहरू विहान १० बजेदेखि १ बजेसम्म संचालन गरिने जनाइएको छ ।
नियमित कन्सुलर सेवाहरू राहदानी नवीकरण, यात्रा अनुमति पत्र, प्रमाणीकरण . कामदार मागपत्र प्रमाणीकरणसम्बन्धी कार्यहरू अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको दूतावासले जनाएको छ । तर मलेसिया सरकारको गृह मन्त्रालयबाट जारी भएको विदेशी कामदार ल्याउने सम्बन्धी कोटा (केडिएन एप्रोभल कोटा) को म्याद १ महिना भन्दा कम रहेका मागपत्रहरू प्रमाणिकरणका लागि प्रत्येक बिहिवार बिहान १० बजे देखि १२ बजेसम्म राजदूतावासमा पेश गर्न सकिन जनाईएको छ ।
मलेसियामा वैधानिक रूपमा कार्यरत नेपाली श्रमिकको संख्या इन्डोनेसियापछि दोस्रो स्थानमा रहेको छ । त्यहाँ वैधानिक रूपमा ३ लाख ८२ हजार ६५१ नेपाली रहेका छन । मलेसियामा ७३ प्रतिशत नेपाली उत्पादन क्षेत्रमा कार्यरत रहेको त्यहाँको मानव संशाधन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस