सिम्रिक एयरको भ्रमण प्याकेज सार्वजनिक, काठमाडौंबाट गोसाईंकुण्डसम्म कति लाग्छ भाडा ?

फाइल तस्बिर

फागुन ६, काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले महाशिवरात्रीको अवसर पारेर भोलि (मंगलबार)देखि गोसाइँकुण्ड यात्राको प्याकेज तयार गरेको छ ।

यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने उद्देश्यले मुलुकको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये गोसाईंकुण्ड (लाङटाङ) सम्मको हेलिकप्टर यात्रालाई यस वर्ष पनि सिम्रिक एयरले निरन्तरता दिएको हो ।

शारीरिक अशक्तता वा समय अभावले गोसाईंकुण्डसम्म पुग्न असमर्थ भक्तजन तथा पर्यटकलाई लक्षित गरी सबैको पहुँचलाई सहज बनाउने उद्देश्यले यात्राको प्याकेज तय गरिएको सिम्रिक एयरका महाप्रबन्धक प्रेम थापाले बताए ।

‘गोसाईंकुण्डमा सबै नेपालीको पहुँच पुर्‍याउन यसपटक पनि यस्तो प्याकेज सुरु गर्न लागेका हौं,’ महाप्रबन्धक थापाले भने । थापाका अनुसार बूढानीलकण्डदेखि गोसाईंसम्मको दोहोरो यात्राका लागि प्रतिव्यक्ति प्रतिउडान २० हजार रुपैयाँ तोकिएको छ ।

हेलिकप्टरमा काठमाडौंबाट जान १५ मिनेट र गोसाईँकुण्डबाट फर्कन पनि १५ मिनेट लाग्ने थापाले बताए । मंगलबारदेखि हरेक बिहान सात बजेदेखि उडान सुरु हुनेछ । सिम्रिकले विगत चार वर्षदेखि शिवरात्रीको पर्वको अवसर पारेर गोसाईंकुण्ड यात्राको प्याकेज तय गर्ने गरेको छ ।

सिम्रिकले नाफाभन्दा पनि सेवामूलक उडान गरेको र सस्तोमा हेलिकप्टर यात्रा सुविधा उपलब्ध गराएकाले यसप्रति आकर्षण बढ्दै गएको थापा बताउँछन् । हिँडेर जाँदा लाग्ने समयको बर्बादी, थकान, शरीरलाई हुने सास्ती र बिरामी पर्ने तनावलाई हेलिकप्टर उडानले सहज बनाएको अनुभव सिम्रिकसँग छ । सिम्रिकले प्याकेजै बनाएर सुरु गरेको यो यात्रामा अन्य वायुसेवाको पनि रुचि देखिन थालेको छ ।

सिम्रिकले बूढानीलकण्ठ मन्दिरबाट यात्रुलाई चिया नास्ता खुवाउने र फर्किएर आउँदा खानाको पनि सुविधा दिएको छ । सिम्रकले सदाझैँ उडानअघि ब्रेकफास्ट र उडानपछि खानाको व्यवस्था गर्ने भएको छ । यसबाट यात्रुलाई पीकनिकजस्तै अनुभुति हुने अपेक्षा गरिएको छ ।

६ फाल्गुन २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको