बिद्यार्थीका कथा सुन्ने शिक्षक !

हरेक बालक एउटा पुस्तक हो, जसका हरेक पानाहरु एउटा शिक्षकले पढ्नु पर्छ


बेथानी हिलले भनेका छन ‘तिम्रो कक्षामा हरेक बालबालिकाहरुले आ-आफ्नो कथा बोकेर आएका हुन्छन्, जुन कथा सुन्न आवश्यक छ, सुन्यौं भने अर्थ लाग्छ ।’ अर्का दार्शनिक रुसो भन्छन् ‘हरेक बालक एउटा पुस्तक हो, जसका हरेक पानाहरु एउटा शिक्षकले पढ्नु पर्छ’ ।

विलियम स्पेडिको एउटा प्रेरणादायी भनाई छ, ‘हरेक विद्यार्थीले सिक्न चाहान्छ, सफलता हाँसिल गर्न चाहान्छ, फरक यति मात्र हो कि सबैले एकै किसमबाट सिक्न सकिरहेका हुदैनन्’ ।

यी माथिका प्रेरक भनाईहरु एक असल शिक्षकका लागि अध्यनका बिषय हुन् । यिनै भनाईहरुलाई अनुसरण गरेर शिक्षण गर्ने शिक्षक कमै पाउन सकिन्छ । विद्यार्थीका समस्या, भावना र पिर ब्यथाहरुको छेउ टुप्पोसम्म भेउ नपाएर पढाई शुरु गर्ने शिक्षकहरुको हालीमुहालीले बिद्यालयको बाताबरण बिग्रिएको छ । बालबालिकाहरुलाई अध्यनमा निरन्तर उत्सुक बनाउन सकिरहेका छैनन् ।

शिक्षण पेशा जागिर मात्रै नभई आफैमा यो एउटा सामाजिक कर्म पनि हो। कतिले त यो पेशालाई सामाजिक कार्य भनेर लागि परेका पनि छन् । दर्शन अरु पेशामा पनि लागू हुन्छ होला तर शिक्षण पेशामा भने यसको असर अलि छिटो नै देखिन्छ ।

शिक्षकले हरेक बालबालिकाहरुले सम्पादन गर्ने र सुन्दर कुरा केलाउन सक्नु पर्छ । शिक्षकको मस्तिष्कले हरेक बालबालिकालाई के कसरी सहयोग गर्न सकिन्छ भनेर चिन्तन गर्नु पर्छ । उसको अनुहारले हरेक बिहान बालबालिकासंग मुस्कराउन सिक्नु पर्दछ । उसका कानले विद्यार्थीका कुरा ध्यान दिएर सुन्न सक्नु पर्दछ ।

उसका हातहरुले बालबालिकालाई स्नेहपूर्बक सुमसुम्याउन, सहयोग गर्न र अङगालोले बाधेर मन मुटुले माया प्रेम गर्न सक्नुपर्छ । उसका पैतालाहरुले विद्यालय बाहिरका रमाइला कुरा देखाउन तिर मन गर्नु पर्छ। यति मात्रै नभई उसले लगाउने पोसाक समेत सजिलो सामान्य र सर्बसुलभ हुनुपर्छ । जसलाई देखेर बालबालिकाको एकाग्रता भङ्ग नहोस । भनिन्छ ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ ।

अब्राहम लिङ्कनले भनेझैं समाजमा दुष्ट मानिस पनि छन् र सज्जन समाजसेवी पनि छन । स्वार्थी जाली फटाहा राजनितीज्ञ पनि छन् र निष्ठावान जनताको लागि समर्पित नेता हरु पनि छन् । त्यस्तै शत्रु पनि छन्, मित्र छन् भन्ने कुरा सिकाउनु पर्छ।

विजय पराजय के हो भनेर सिकाउनु छ । प्रकृतिको घमाइलो वातावरणमा निर्मल स्वच्छ निलो आकाश मुनि पहाडी काखमा फुलिरहेका लाली गुराँसको शाश्वत रहस्य बुझाउनु छ। वातावरण मैत्री र प्रकृतिप्रेमी बन्न सिकाउनु छ । आफ्नो बलबाहु र सामार्थ्यमा बिश्वास गर्न सिकाउनु पर्छ । सत्य न्याय समानताको लागि बलिदान गर्नु परेपनी तयार हुन सिकाउनु छ । निर्भीक साहसी र उत्साही बन्न सिकाउनु पर्छ।

शिक्षाकै कारण आज दुनियाँमा असम्भव भनेका कुरा सम्भब भैसकेको छ । एउटा विद्यार्थीले किताब भन्दा पनि शिक्षकको जीवन र उसले देखाउने ब्यबहारिक गुण सिकेर कति धेरै कुरा सिक्थ्यो होला । नवीनतम कुराको लागि सिर्जनाको खानी बन्थ्यो होला ? तर म आफैलाई लाग्छ त्यहीँ अनुसारको कुशल शिक्षक हुन सकिरहेको छैन ।

शिक्षण पेशामा लागेको एक दशक भन्दा लामो समय बितिसक्दा कयौंपटक मनमा पेश नै छोडिदिउ झैँ लाग्यो तर जब कलिला केटाकेटीहरुको निर्दोष अनुहार देख्छु, उनीहरुको बालसुलभ देख्छु, अनि उमंगहरुले उत्साहित बनाउछ । अनि मेरो दैनिकी नै शिक्षण पेशा बनेको छ ।

(लेखक सिद्दार्थ नमुना माविका शिक्षक हुन)

२०७६ माघ ४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको