बैशाख ५, लण्डन । चीनको वुहान स्थित वेट मार्केटबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारीसँगै जातीय घृणा बढ्दै गएको छ ।
खासगरी चीन र चिनिँया मुलका मानिसहरु जातीय घृणाको सिकार बन्ने गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त केही समयअघि सम्म कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्ने गरेका थिए।
अष्ट्रेलिया लगयातका अन्य देशले कोरोना भाइरसलाई लिएर वुहानमाथि कारवाही हुनुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघ सामु राखेका छन्। खासगरी पश्चिमी मुलुकमा चिनियाँहरुको खानपान लगायतलाई लिएर जातीय घृणा बढेको देखिन्छ। विभिन्न ठाँउमा आक्रमणका घटना समेत सार्वजनिक हुने गरेका छन्। कोरोना भाइरसको स्रोतबारे अनेकन अड्कलबाँजी भइरहेपनि हालसम्म वुहानको मासु बजारलाई जिम्मेवार ठाँनिएको छ।
जहाँ सर्प, भ्यागुता, चमेरा लगायतको मासु बेचिन्थ्यो। यसैबीच, बेलायतको लण्डनमा २ नेपालीको गाडीमा आगजनी भएको छ। बेलायतको मेडस्टोनमा चाइनिज नागरिकको ठानेर अपराधीहरुले सेवानिवृत्त गोरखा सैनिक रामकुमार लिम्वुको कारमा आगजनी गरेका हुन् ।
घर वाहिर विष्फोटको आवाज सुनेपछि पूर्व सैनिकको परिवारले सावधानीपूर्वक हेर्दा आफ्नो कारमा आगलागी भइरहेको देखे। सो परिवारका केही सदस्यहरु कोरोनाविरुद्ध राष्ट्रिय स्वास्थ सेवामा कार्यरत रहेका छन्। ‘हाम्रो अनुहार चाइनिज अनुहारसंग मिल्ने हुंदा आक्रमण हुने धेरै डर रहेको छ’ स्थानीय केन्ट अनलाइनलाई पीडित परिवारका एक सदस्यले गुनासो गरेका छन्।
उक्त घटनाको एक घण्टा पछि सोही क्षेत्रका अर्का नेपालीको कारमा पनि आगजनी गरिएको थियो। सो परिवारका सदस्यहरुलाई स्थानीय अतिवादीहरुले हिंडडुलका लागि बाहिर निस्कदा समेत ‘चाइनिजहरु आफ्नो देश जाऊ, चमेरा खान छाड’ भनेर अपमानित गर्ने गरेका छन्।
लिम्बुकी भतिजीलाई उद्धृत गर्दै केन्ट अनलाइनले ‘कोरोना भाइरसको महामारी सुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको पाइएको’ उल्लेख गरेको छ। उनले आफ्नो पितालाई किनमेलका लागि निस्कँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको बताएकी छिन् ।
मेडिस्टोनमा गोरखाहरुको ब्यारेक रहनुका साथै पूर्व गोरखाहरुको पनि बाक्लो बसोबास छ। मेडिस्टोनका नेपाली मूलका काउन्सिलर दिनेश खड्काले सो घटनाको केन्ट प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस