फागुन १० देखि तुलसीपुरमा प्रदेश एक्स्पो हुने


माघ ३, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित बेलझुण्डी रंगशालामा फागुन १० देखि १२ गतेसम्म प्रदेश एक्स्पो हुने भएको छ ।

सरकारले प्रदेश स्थापना दिवसको अवसरमा दाङमा एक्स्पो गर्न लागेको हो । २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । प्रदेश एक्स्पोका लागि झन्डै ५० लाख बजेट छुट्याइएको छ ।

त्यसैको तयारी स्वरुप जिल्लाका सरोकारवालासँग शुक्रबार छलफल भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले प्रदेश सरकारले हालसम्म गरेका गतिविधि र संभावनाका बारेमा बृहत बहस तथा छलफल केन्द्रित गर्न एक्स्पो आयोजना गरिएको बताए ।

प्रदेश स्थापनाको मध्यावधि समय भएकाले प्रदेशले निर्माण गरेका कानुन र गरेका कामको बारेमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश एक्स्पो गर्न लागिएको उनले स्पष्ट पारे ।

तीन दिनसम्म चल्ने उक्त प्रर्दशनीमा प्रदेशका १२ वटै जिल्लाका सबै १ सय ९ वटै स्थानीय तहको सहभागिता हुने कानुन मन्त्री केसीले जानकारी दिए ।

त्यसमा प्रदेश भरका स्थानीय तहका संभावना, गरेका काम र चुनौतिका बारेमा छलफल हुनेछ । ‘प्रदेश भर प्राकृतिक संभावना के छन् ? कहाँ हिरा खानी छ ? कहाँ के कुराको संभावना छ? त्यसको बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्न एक्स्पो गर्न लागिएको हो,’ कानुन मन्त्री केसीले भने ।

एक्स्पो उद्घाटन कार्यक्रममा झन्डै ५० हजारको सहभागी हुने, २ सय झाँकी जुलुस आउने अनुमान छ। एक हजार बढी गाडी पार्किङको व्यवस्था गर्ने तयारी गरिएको छ ।

स्टल निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । साथै एक्स्पो सफल तुल्याउन मुल आयोजक समिति, विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । उद्घाटन कार्यक्रमको अध्यक्षता मुख्य मन्त्री शंकर पोखरेलले गर्ने भएका छन् ।

३ माघ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको