यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, कहाँको स्थिति के छ ?

फाइल तस्बिर

माघ ३, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७६ माघ ३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको