तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी

फाइल तस्बीर

जेठ ३, दाङ । दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत कर्मचारी रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ कोरोना संक्रमित भएको पुष्टि गरेको तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिएका छन ।

उनको स्थायी ठेगाना तुलसीपुर ७ भएपनि उनको कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको पाइएको हो । ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी ? भन्ने अझैं एकिन भइसकेको छैन ।

यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

यसैबीच कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दाङ गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डीमा उपचारका लागि लगिएको छ ।

ती दुबैलाई शुक्रबार राति ११ बजेतिर गढवाको क्वारेन्टाइनबाट बेलझुण्डी लगिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । उनीहरु भारतको गोरखपुर र मुम्बइबाट नेपाल फर्किएका थिए ।

३ जेष्ठ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको