प्रचण्ड किन बन्न सकेनन् ‘होचिमिन्ह’


कमरेड प्रचण्डको महान् विरासतबाट छविलाल दाहालको स्तरमा झरेका पुष्पकमल दाहालका हिजोआजका दिनहरू कसरी बित्छन् होला ? उनको घरको छतबाट देखिने गौरीशङ्कर हिमाल हेर्दै बितेको समयलाई उनी कसरी लिन्छन् होला ? यो जिम्मा मनहरी तिमल्सिना वा उजीर मगरलाई नै छोडिदिऊँ । यो छोटो लेख प्रचण्डलाई गाली गरेर बजारमा दुईचारवटा वाःवाः बटुल्ने यूट्युबेपनका लागि होइन ।

द्वन्द्वात्मक तरिकाले प्रचण्डको आरोह–अवरोहलाई छिचोल्ने प्रयत्न मात्र हो । तपाईं माने पनि नमाने यो शताब्दी प्रचण्ड क्रान्तिकारिता र उत्तरक्रान्तिकारिताको हो । उत्तरक्रान्तिकारीलाई राजनीतिक भाषामा संशोधनवाद पनि भन्न सक्नुहुन्छ । प्रचण्डको जीवन जेजे घटना भए त्यो राष्ट्रिय अर्थका मात्र नभै अन्तर्राष्ट्रिय सन्दर्भका पनि भए ।

प्रचण्डको लोकतान्त्रिक यायावरपथको यात्रा बुझ्न चुनबाङ बैठक वा खारा आक्रमणका दिनसम्म पुग्नुपर्छ । उनी किन जित्ने लडाइँमा हच्किए ? किन व्यवस्थापनमा चुके ? यहाँनेर राजनीतिक कारण खोज्न जरुरी छ ।

बजारका केही पत्रकारले लेखेजस्तो प्रचण्ड आर्मी बन्न खोजेको र माओवादी बनेको टाइपको व्यक्तित्व होइन । बलिदानी, वीरता र साहसको एउटा नाउँ हो । भलै त्यो नाउँ अब इतिहास भैसकेको छ । इतिहासले त्यो नाउँ स्वर्ण अक्षरमा लेख्न कि सक्ला नसक्ला । नेपालमा यो स्तरको विद्रोह र त्यसको नेतृत्व गर्ने छाती भएको मान्छे जन्मन समाज विज्ञानले नै कोल्टे फेर्नुपर्छ । लाखौँ जनताको त्याग र बलिदानले प्रचण्डलाई प्रचण्ड बनाउन सम्भव भएको हो ।

शान्तिप्रक्रियाका दिनमा आइसकेपछि बजारले माओवादीका आदर्शलाई निल्यो । बसपार्कमा बसेर फुटुङकी दिदले ल्याएको चिया खाँदै सहरी विद्रोहको खाका कोर्दै गर्दा माओवादीमा सेलाएको थिएन मुक्तिको अभिलाशा । जनताका प्रिय सपनाहरूलाई जीवन दिने चाहना उस्तै थियोे । निर्दोष अनुहारहरूलाई नेपाल बदल्नुपर्छ र गरिखानेको दिन ल्याउनुपर्छ भन्ने भाव जीवन्त थियोे । रोल्पा, रुकुम, दाङ र प्युठानको रात्रीबसभरि बाँसका छडी थिए । राता झन्डा थिए । सामना परिवारका कलाकार थिए । उनीहरूसँग थिए जनताको झुपडीमा बसेर लेखिएका, गाइएका अनि नाचिएका गीत, अपेरा र नाटकहरू । वास्तवमा त्यहाँ माओवाद थियोे । जनवाद थियोे । आदर्श थियोे । बलिदानी भाव थियोे ।

नयाँ बसपार्क नजिकै छ ठमेल । लुटको धनमा फुपूको श्राद्ध खानेको हूल लाग्छ त्यहाँ । बिस्तारै कमरेड ठमेल पुग्न थाले । ठमेल माओवादी देखेर डरायो । अब हाम्रो लूटको स्वर्ग ढल्छ । ठमेलले डराइडराई कमरेडहरूलाई नक्कली सलाम ग¥यो । कमरेड डान्सबार छिरे । भट्टी छिरे । मसाज सेन्टर छिरे । सुविधाको भोकले मतायो । सुविधाले ततायो । ‘एक रात दीपक मनाङेको उर्वशी डान्स सेन्टरमा ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ गीतमा कमरेड नाचिरहेको देखेँ ।

कमरेड प्रचण्डको निवास ठमेलनजिकै थियोे नयाँ बजारमा । केही कमरेडहरू त्यहाँ रक्सीको तालमा पुगेर भन्न थाले– मनमा विद्रोह, तनमा उल्लास ।

यसरी प्रचण्डमा बिस्तारै आउन थाल्यो पहिरो । यसमा हजारौँ कारण हुन सक्लान् । पहिरोको मुख्य कारण उनी नै भए किनकि नेतृत्व उनीसँग थियोे । उनले चाहँदा छिद्रहरू टाल्दै अगाडि बढ्न सक्थे ।

एक दिन उर्वसी डान्स बारमै भेटिए गोकुल बास्कोटाको किताब बोकेका एक लम्बु केटा । माओवादीका कमरेडले सोधे– तपाईं कम्युनिस्ट हो ? हिमालय रिजर्भ पिउँदै उनले भने– म ! कम्युनिस्ट हो तर माओवादी होइन । तपाईं के गर्नुहुन्छ ? पत्रकार हुँ भन्छु । एमालेको राजनीति गर्छु । गैससबाट भत्ता आउँछ । मोजले जिउछु । उसो भए तपाईंले इच्छुक पुरस्कार लिन बक्सनुप¥यो ? फेरी मेरो बिल्ला होला नि ? लम्बुले माओवादी साथीहरूलाई एक बोतल मगाए । ठीक छ, लिन्छु नि । उनी खुसी भए ।

तपाईंको शुभनाम ?
सूर्य थापा ।

एक दिन महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ का नाममा बेइमानी भो । एउटा आदर्शमाथि सूर्य थापाको धब्बा पोतियो ।
आज सूर्य थापा अघि–अघि छन्, कमरेडहरू पछिपछि । सूर्य थापा गाली गर्छन्, चिच्याउँछन् । लाचारहरू अः अः मात्र भन्छन् । इतिहासको एउटा गति यसरी पछाडि धकेलिएको छ ।

भियतनामलाई इतिहासमा उथलपुथल गर्ने र भियतनामलाई मुक्तिको लालकिल्ला बनाउने योद्धा होचिमिन्ह । आज विश्वभरका श्रमजीवीका लागि होचिमिन्ह प्यारो भियतनामी काका बनेका छन् । कमरेड प्रचण्डले अब त्योखाले इतिहास बनाउन असम्भव नै भैसक्यो । पुष्पकमल दाहाल त अहिले पनि आधा केजी मासु भुटिरहेका छन् ।

४ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको