कुवेतद्वारा नेपाली सहित विदेशीलाई आममाफी, जरिवाना र स्वदेश फर्कन हवाई टिकट समेत निशुल्क


वैशाख ४, काठमाडौँ । कुवेत सरकारले आफ्नो देशमा गैरकानूनी (अवैध) भई बसेका आप्रवासी कामदारहरुलाई आममाफी दिने भएको छ । जसको लागि अवैध आप्रवासी कामदारहरुले आगामी अप्रिल ३० भीत्र कुवेत सरकारलाई आवेदन दिनुपर्ने हुन्छ ।

आवेदन दिएकाहरुलाई कुवेत सरकारले कुनै जरीवाना समेत नतिराई आ–आफ्नो मुलुक जान दिने घोषणा गरेको छ । स्वदेश फर्कन चाहने अवैध अप्रवासीहरुलाई जहाज टिकट समेत कुवेत सरकार आफैले उपलब्ध गराउने बताइएको छ ।

यस्तो सुविधा कुवेती आवासीय भिसा समाप्त भएका वा एउटा रोजगारदाताबाट भागेर अर्को रोजगारदातासँग काम गरेका कारण गैरकानुनी भएकाहरुले पाउनेछन् ।

कुवेत सरकारले लिएको यो निर्णयले त्यहाँ रहेका नेपालीहरुलाई समेत सहयोग पुग्ने भएको छ । कोरोना भाइरसको त्रासकै बीच कुवेत सरकारले लिएको यस्तो नीतिले अवैध बस्दै आएका कामदारहरुलाई ठूलो राहत पुग्ने बताइएको छ । यसअघि यस्ता कामदारले कुवेत सरकारलाई जरिवाना समेत तिर्नुपर्थ्यो । साथै हवाई टिकट समेत आफैले व्यवस्था गरेर स्वदेश फर्कन दिइन्थ्यो ।

कुवेत सरकारले दिएको यस्तो सुविधा उपयोग गर्नको लागि नेपाली कामदारहरुले आगामी अप्रिल २६ देखि ३० तारेखसम्म ५ दिनको समय पाएका छन् ।

कुवेत सरकारले यस अघि पनि अवैध कामदारलाई आममाफीको सुविधा दिएको थियो । तात्कालिन समयमा जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी बैध हुने अवसर कुवेत सरकारले दिएको थियो ।

यसअघि कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारहरुलाई तोकिएको अवधिभित्रै सहजिकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको थियो । तर यसपटक कुवेतस्थित नेपाली दुतावासले यस विषयमा जानकारी नगराएको कारण त्यहाँ रहेका नेपालीहरु द्विविधामा छन् ।

कोरोना भाइरसको संक्रमणको डरले कुवेतमा रहेका धेरै नेपालीहरु स्वदेश फर्कने सोचमा छन् यस्तो अवस्थामा गैरकानुनी भई बसेका कामदारले पाएको आममाफीलाइ सदुपयोग गर्नु नेपालीहरुको लागि अवसर भएको बताइएको छ । आममाफीको नीतिलाई पालना गर्दै तोकिएको समयमा निवेदन नदिएको खण्डमा कुवेत सरकारले कुनैपनि कारवाही गर्न सक्ने बताइएको छ ।

साथै, उक्त आममाफी अवधिमा स्वदेश नर्फकने र कुवेत बस्नका लागि बैध नहुने व्यक्तिले कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्यक्तिहरु गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)का देशहरु (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेविया, यूएई) मा पुनः आउन नसक्ने अवस्था आउनसक्छ ।

४ बैशाख २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको