फागुन ४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले तत्कालिन एमाले र माओवादीबिच पार्टी एकताका लागि जनयुद्धदेखि नै छलफल र लिखित दस्तावेज तयार हुँदै आएको बताएका छन् ।
नेकपा प्रदेश ५ को प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘कमरेड केपी ओलीजी र मैले कुन परिस्थित र पृष्ठभूमिमा पार्टी एकताको पहल गरौं भन्ने निश्कर्षमा पुग्यौ । र, संकल्प गरेर चुनावमा जाऔं भन्ने कुरा बुझाउन आवश्यक ठाने मैले । पार्टी एकताको लामो पृष्ठभूमि भन्न परेन अहिले,’ अध्यक्ष प्रचण्डले भने ।
‘एकातिर शान्तिपूर्ण आन्दोलन र अर्कोतिर जनआन्दोलन पनि चलिराखेकै थियो,’ उनले थपे,‘२०५६ सालदेखि पार्टी एकताका बारेमा हाम्रो छलफल भएको थियो । जुन कुरा सुरक्षाका कारण हामीले तलसम्म जानकारी नदिएको हो । कमरेड केपी ओली र मेरो २०५८ सालमा भेट भएको थियो । त्यस बेला हामीबीच लामै छलफल र वहस चलेको थियो । उहाँ पनि तिखो कुरा राख्ने मान्छे । तिखा कुरा गर्नु भयो । हामी पनि बन्दुक बोकेका मान्छे । तिखो कुरा गर्ने नै भयौं । दुबैले घनिभूतसँग कुरा राख्यौ ।’
आफूहरुबीच तीन घण्टासम्म छलफल भएको उनले बताए । ‘त्यति बेला तीन घण्टा सम्म हामीबिच वहस भएको थियो, म तपाईहरुलाई शेयर गर्न चाहें । उहाँले भन्नु भएको थियो तपाई त मैले सुनेको भन्दा बेग्लै हुनुहुँदो रहेछ, राष्ट्रिय अन्तरािष्ट्रय परिस्थितबारे पनि सबै भन्नु भो, अनि मैले पनि भनेको थिएँ । प्रचण्डले भने, ‘तपाईका बारेमा पनि मैले जे सुनेको थिए, त्यो तपाईमा पाईन, अब म तपाईका बारेमा बेग्लै धारणा बनाउने छु ।’
उनले त्यस यता विभिन्न रुपमा र विभिन्न ठाउँमा पटक पटक पार्टी एकताका लागि पहल भएको र पछिल्लो चरण २०६३ सालमा काभ्रेको फुलवारीमा दुबै पार्टीका शीर्ष नेताहरुबीच दस्तावेजसहित पार्टी एकताको प्रकृया अगाडि बढाइको बताए । जुन छलफलमा तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालदेखि अन्य शीर्ष नेता र तत्कालीन माओवादीका रामबहादुर थापादेखि मोहन वैद्य (किरण), बाबुराम भट्टराई र विप्लवसम्म रहेको अध्यक्ष प्रचण्डले बताए ।
‘माधवजीसँग २०६४ सालको चुनावमा गठबन्धन गरेर चुनाव लडौं भनेर मैले भने कै हो । हामीले ५० प्रतिशत तपाईहरुलाई ५० प्रतिशत सिट बाँडफाँड गरेर चुनाव लडौं । तर उहाँहरुले हामीलाई ४५ प्रतिशत पनि दिन नमानेपछि त्यति बेला एकता हुन नसकेको हो । तर म आफैले नसोचेको परिणाम २०६४ सालमा आयो,’ उनले भने ।
तत्कालीन समयमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफुलाई चाहिने आफ्नो दम्भका कारण पार्टी एकता हुन नसकेको बताए ।
‘त्यति बेला हामी हौसियौं । राष्ट्रपति पनि हामीलाई नै चाहिने प्रधानमन्त्री पनि हामीलाई सबैथोक हामीलाई नै चाहिने दम्भ हुँदा पार्टी एकताले गति लिन नसकेको हो । पहिलो संविधन सभा निर्वाचनमा जनताले तत्कालीन एमालेलाई पछारी दिए,’ प्रचेडले भने, ‘दोश्रो संविधान सभा निर्वाचनमा चुनावमा तत्कालीन माओवादीलाई जनताले एमालको अघिल्लो चुनावको ठाउँमा पछारी दिए । यी यावत कुराको हामीले गम्भीर समीक्षा गरेपछि अब कम्युनिष्टरु एक भएर जानु पर्छ भनेरै पार्टी एकता गरिएको हो ।’
जनयुद्धकालदेखि शीर्ष नेताहरु मिल्दै आए पनि कार्यकर्ताहरु आफू–आफूमा लडेको उनले बताए । ‘हामीहरु पार्टी एकताका लागि मिलेकै थियौं,’ कार्यकर्तातिर इंगित गर्दै उनले भने, ‘बरु तपाईहरु आफू– आफू लड्नु भए होला वा हामीले तपाईहरुलाई लडायौं होला ।’
उनले पार्टी एकताको पृष्ठभुमी र परिस्थिति बुझेर एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले प्रदेश ५ को सरकार र नेकपा पार्टी संगठन समेत देश मै अब्बल रहेको भन्दै नेतृत्व पंक्तिलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस