चीनबाट ल्याइएका १ सय ७५ नेपालीलाई खरिपाटी पुर्‍याइयो

तस्विर: प्रदीपराज वन्त, रासस

फागुन ४, काठमाडौं । चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ ।

बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्‍याइएको हो । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्‍याएका छन ।

क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरु सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । उनीहरुलाई कम्तिमा २ साता खरिपाटीस्थित क्वारेन्टाइनमा नै राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आवेदन दिएका एक सय ८५ मध्ये १० जना चीनमा नै रोकिएका छन । ६ जनाको स्वास्थ्यमा समस्या आएपछि वुहानमै रोकिएका हुन भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेकाले नेपाल नआएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन् ।

नेपाल आउनेमा एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार छन। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिला नेपाल आएका हुन ।

४ फाल्गुन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको