युएईमा भयानक दुर्घटना: ५ नेपालीको मृत्यु, १८ जना घाइते


माघ २, काठमाडौँ । युएईको आबुधावी प्रहरीले बिहीबार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ । यस्तै अन्य १८ जना घाइते भएका छन् ।

आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको हो । दुर्घटना लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ ।

आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत जारी गरेको एक भिडियोमा दुई सामान बोक्ने लरी खतरा बत्तीका साथ सडकको दाहिने लेनमा देखिन्छ । जसको अगाडि एक कार रोकिन खोजेको देखिन्छ । त्यतिनै बेला केही गाडी लरीलाई छल्दै तीब्र गतिमा अघि बढ्छन् । तर एक बस भने पछिल्लो लरीको पछाडि ठोक्किन पुग्छ ।

आबुधावीको यातायात अनुसन्धान विभागका प्रमुख मोहम्मद अब्दुल रहीम अल होसानीका अनुसार दुर्घटनाको खबर पाउना साथ एम्बुलेन्स, उद्दार टोली घटनास्थल पुगेको थियो । तत्कालै उद्दार टोलीले घाइतेलाई अस्पताल पुर्याएको थियो ।

दुर्घटनामा ५ नेपालीको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार मिनीबसमा १८ जना नेपाली रहेको जानकारी आफूले पाएको बताएका छन् ।

मृतकहरुको पहिचान हुन नसकेको राजदूत ढकालले जानकारी दिएका छन् । ढकालले घाइतेहरुको माफराक अस्पतालमा उपचार भइरहेको जाकारी दिए ।

आबुधावी प्रहरीका बाह्य क्षेत्रीय यातायात विभाग तथा गस्ती निर्देशनालयका प्रमुख अब्दुल्ला खमीस अल अजीजीले दुर्घटना अत्याधिक गति भएको बताए । कार चालकको गल्ती तथा बस चालकले पनि अगाडीको अवस्था ख्याल गर्न नसक्नु समेत दुर्घटनाको जिम्मेवार रहेको बताए ।

भिडियो हेर्नुस

२ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको