ओलीको कार्यशैलीप्रति कांग्रेस आक्रामक


मङ्सिर ३०, काठमाडौँ । सरकारप्रति आक्रामक बन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार देशैभर जनप्रदर्शन र विरोधसभा गरेको छ ।

संघीय राजधानी काठमाडौंलगायतका प्रमुख सहरमा हजारौं कार्यकर्ताले सडकमा उत्रिएर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् । नेताहरू पनि प्रधानमन्त्री ओलीको कार्यशैली र भूमिकाप्रति आक्रामक रूपमा प्रस्तुत भए ।

कांग्रेस नेताहरूले पाँच वर्ष शासन सञ्चालन गर्ने जनमत पाएको सरकार उल्टो दिशामा हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री ओली संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गरी आफूमा शक्ति केन्द्रित गरेर सुरुदेखि नै सर्वसत्तावादको अभ्यासमा लागेको उनीहरूले बताए । प्रधानमन्त्रीको कार्यशैलीले सडकमा राजावादीले उठ्ने मौका पाएको उनीहरूको ठम्याइ थियो । उनीहरूले सरकारको कुशासन र बेथितिविरुद्ध आम जनतामा देखिएको वितृष्णाको उपज नै राजावादीले व्यवस्थाविरुद्ध प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।

आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत नेताले सरकार भ्रष्टाचारमा डुबेर असफल बनिसकेको भनिरहँदा कांग्रेसले पनि सडकमा ओलीले सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको भनाइ दोहोर्‍याएको छ । गत वैशाखको केन्द्रीय कार्यसमितिबाटै प्रधानमन्त्री ओलीले सत्तामा बस्ने नैतिक र राजनीतिक आधार गुमाएको निष्कर्षमा कांग्रेस पुगेको थियो तर सरकारका ‘कुशासन र बेथिति’ मा कांग्रेस मौन बस्दै आएको थियो । मंसिर १७ गते तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले गिरफ्तार गरेपछि मात्रै कांग्रेस सडकमा उत्रिएको हो ।

सभापति शेरबहादुर देउवाले सोमबारै विज्ञप्ति निकाल्दै देशभरको प्रदर्शनले पार्टीलाई नयाँ ऊर्जा दिएको बताएका छन् । ‘यो ऊर्जालाई क्रमिक रूपले अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष गर्न चाहन्छु,’ उनले भनेका छन् । देउवाले देशव्यापी प्रदर्शनमा भएको सहभागिताले ‘कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत’ प्रकट गरेको बताए । ‘नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको छ,’ देउवाले भनेका छन् । सरकारविरुद्धको प्रदर्शनलाई कायम राख्ने कि नराख्ने भन्नेमा भने देउवा अलमलमा छन् । कोरोना महामारीको कारण देखाउँदै उनले सडकभन्दा संसद्तिर पार्टीले सशक्त दबाब दिने बताएका छन् ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीको अधिवेशन तयारीसँगै सडकबाटै सरकारलाई खबरदारी गर्दै जानुपर्ने बताए । ‘कसरी अघि बढ्ने भन्नेबारे बसेर छलफल गर्छौं, पार्टीलाई पनि जोगाउनु छ, सरकारलाई पनि खबरदारी गर्नु छ,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीमा बसेर छलफल गरेपछि कसरी अघि बढ्ने तय होला ।’

झापाको कार्यक्रममा रहेका सहमहामन्त्री प्रकाशशरण महतले सरकारविरुद्धको विरोध प्रदर्शनलाई निरन्तरता दिने बताए । सरकारका गतिविधिले आम जनतामा वितृष्णा जागेका बेला त्यसको आक्रोश व्यवस्थाविरुद्धको अभियानमा पोखिन नदिन पनि कांग्रेसले सडक र सदन दुवैमा सशक्त आवाज उठाउनुपर्ने तर्क उनको छ । ‘विरोध कार्यक्रम जारी हुन्छ । कसरी गर्ने, कस्तो कार्यक्रम गर्ने भन्नेबारे पार्टीको आगामी बैठकमा तय हुन्छ,’ उनले कान्तिपुरसँग भने ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई प्रधानमन्त्री ओलीको अलोकप्रियताविरुद्धकै शक्ति प्रदर्शनका रूपमा लिएको छ । कांग्रेसले ७७ जिल्लाकै सदरमुकाममा विरोध प्रदर्शन गरेको थियो । नाराजुलुससहितको प्रदर्शनपछि विरोधसभा गरिएको थियो । विरोधसभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला–जिल्ला पुगेका थिए । सभापति देउवाले मकावनपुरको हेटौंडा र वरिष्ठ नेता पौडेलले राजधानीकै सभालाई सम्बोधन गरे ।

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, सहमहामन्त्री महतले झापा, अर्का सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटाको सभालाई सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्ने क्रममा देउवाले धेरैपटक प्रधानमन्त्री ओलीको नाम लिएरै सरकार असफल भएको टिप्पणी गरे । कोरोना महामारीबीच जनतालाई सडकमा भेला गराएर अप्ठ्यारो पार्ने उद्देश्य कांग्रेसको नभएको उल्लेख गर्दै उनले बाध्य भएर कांग्रेस सडकमा आएको बताए । ‘ढुंगा हान्ने, पसल बन्द गराउने, सडक बन्द गराउने, सडकमा आमसभा गर्ने उद्देश्य हाम्रो थिएन, बाध्य भएर गरेका हौं,’ उनले भने । देउवाले ओलीलाई भेटेरै कोरोना महामारीविरुद्धको लडाइँमा आफ्नो पार्टीले बिनासर्त सरकारलाई सहयोग गर्ने भनेको तर त्यसलाई कमजोरीका रूपमा लिइएको बताए । प्रधानमन्त्री ओलीको ‘कुशासन’ ले गर्दा सडकमा ‘राजा आऊ देश बचाऊ’ भनेर प्रदर्शन हुन थालेको उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री छँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रविरुद्ध लगाउन खोज्दा नमानेकै कारण जेल हालेको प्रसंगसमेत उनले सुनाए । ‘राजाकै कारणले मुलुकमा गणतन्त्र आएको हो । अब कसैलाई भ्रम नहोस्, राजा आउँदैनन्,’ उनले भने, ‘अहिले सडकमा राजा आऊ देश बचाऊ भनेर नारा लाग्नुमा ओली सरकार नै जिम्मेवार छ ।’

राजधानीको सभामा वरिष्ठ नेता पौडेलले सबैलाई संन्त्रस्त बनाएर समाजलाई कब्जामा राख्ने बाटामा ओली नेतृत्वको सरकार अघि बढेको आरोप लगाए । ‘लोकतान्त्रिक संविधानअन्तर्गत सरकार बनेको हो । सरकार कम्युनिस्टको होला तर राज्य कम्युनिस्ट होइन । ओलीले राज्यलाई कम्युनिस्टकरणतिर लैजाने दुस्साहस गरेका छन्,’ उनले भने, ‘ओली नेतृत्वको सरकारको मात्रै होइन, यो कम्युनिस्टहरूको प्रवृत्तिकै विषय हो ।’ वाईडबडी, यति, ओम्नीलगायत भ्रष्टाचार काण्डमा सरकार डुबिसक्दा पनि प्रधानमन्त्री ओली आफैं अघि सरेर भ्रष्टाचारीलाई बचाउन लागेको पौडेलले आरोप लगाए ।

सत्तारूढ नेकपाकै बहुमत नेताले ओली नेतृत्वको सरकारलाई ‘नालायक र भ्रष्टाचारी’ भनिसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका खुम्चिएको बताए । ‘जब भ्रष्टाचार काण्ड आउँछ, मन्त्री निर्दोष छन् भनेर प्रधानमन्त्री अघि सर्छन् । अख्तियारतिर इसारा गर्छन् अनि अख्तियार त्यस मुद्दालाई मुल्तबीमा राख्छ,’ उनले भने, ‘ठूला माछा उम्कने र भुरा मात्रै पार्ने काम किन भइरहेको छ ?’ पौडेलले लोकतन्त्रमाथि पहिलो प्रहार ओली नेतृत्वको ‘सर्वसत्तावादी कम्युनिस्ट सरकार’ बाटै भएको बताए । ‘दोस्रो प्रहार प्रतिगामी तत्त्वले गरेको छ भने तेस्रो प्रहार विप्लव माओवादीले गर्दै आएको छ । लोकतन्त्रलाई टिक्न नदिने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने यी तत्त्व अहिले सक्रिय छन्,’ उनले भने, ‘सबै प्र्रतिक्रियावादीसँग हाम्रो असहमति छ ।’

सभाअघि राजधानीका विभिन्न भागबाट जुलुस निस्केका थिए । सरकारविरुद्ध चर्को नाराबाजीसहित निस्केका जुलुस शान्तिवाटिकामा एकत्रित भई बागबजार, पुतलीसडक, कमलादी, गणेशस्थान, त्रिचन्द्र कलेज हुँदै पुनः शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो । सभालाई केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र डिला संग्रौलालगायतले पनि सम्बोधन गरेका थिए । भक्तपुरमा उपसभापति निधिले प्रधानमन्त्री ओलीले सुरुवातदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने बाटो समातेको बताए । उनले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पत्रबाटै सरकार असफल भएको प्रमाणित हुने बताए । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले खबर लेखेका छन् ।

३० मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको