मल आयात अलपत्र पार्ने दुई कम्पनीलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश


भदौ ३०, काठमाडौँ । पाटन उच्च अदालतले सम्झौताबमोजिम मल नल्याउने शैलुङ इन्टरप्राइजेज कम्पनीको बैंक ग्यारेन्टी तत्काल जफत नगर्न आदेश दिएको छ ।

पाटन उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले बैंक ग्यारेन्टी जफत नगर्न आदेश दिएको हो । शैलुङले बैंक ग्यारेन्टी जफत गर्ने निर्णय र कालोसूचीमा राख्ने गरी काटिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै दायर रिट दर्ता गरेको थियो ।

अदालतले सो कम्पनीलाई कालोसूचीमा तत्काल नराख्नसमेत आदेश गरेको छ । सम्झौताबमोजिम २० भदौसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङसँगको ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी राखेको ४ करोड ८० लाख धरौटी जफत गर्ने निर्णय गरेको थियो ।

सरकारले २२ भदौमा सो कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र पठाएर शैलुङलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

कालोसूची राख्न सिफारिस

कृषि सामग्री कम्पनी लिमिटेडले मल आयात ठेक्का हातमा पारी मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । सम्झौताअनुसार रासायनिक मल आयात नगरेपछि ठेक्का सम्झौता खारेज गरी कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको हो ।

सम्झौताअनुसार मल आयात नगरेकामा २१ भदौमा दुवै कम्पनीको सम्झौता खारेज गरेको कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीका लागि भने सोमबार मात्र सिफारिस गरेको हो ।

कम्पनीले २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न शैलुङ इन्टरप्राइजेजसँग र २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न होनिको मल्टिपल प्रालिसँग २४ र २७ अप्रिल २०२० मा सम्झौता गरेको थियो । कम्पनीले ५ सेप्टेम्बरभित्र मल आयात गरी सक्नुपर्ने म्याद दिएको थियो ।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयातका लागि दिइएको समयाअवधि सकिँदासम्म रासायनिक मल आयात नगरेपछि २१ भदौमा दुवै कम्पनीको सम्झौता खारेज गरिएको थियो ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले खरिद सम्झौताअनुसार दुवै कम्पनीले सम्झौताअनुसारका कार्य नगरेकाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको जानकारी दिए ।

कम्पनीले कालोसूचीका लागि सार्वजिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरे पनि शैलुङ इन्टरप्राइजेजका अझै दुई वटा ठेक्क सम्झौता बाँकी नै छन् । कम्पनीका अनुसार शैलुङ इन्टरप्राइजेजसँग कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आयातका गर्ने सम्झौता अझै बाँकी छ । सो मल आयात गर्ने ठेक्दार कम्पनी शैलुङ इन्टरप्राइजेजको समयाअवधि अझै महिना दिनभन्दा बढी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कालोसूचीमा नराख्दासम्म यसअघि भएको सम्झौता यथावत् हुने बताए । उनले अहिले कम्पनीले कालोसूचीका लागि सिफारिस मात्र गरेको हुँदा शैलुङ इन्टरप्राइजेजले बाँकी रहेको सम्झौताअनुसार नै मल आयात गर्न सक्ने बताए । कालोसूचीमा परेपछि कानुनबमोजिम छलफल भएर कृषि सामग्रीले निर्णय लिन सक्ने प्रवक्ता केसीले बताए ।

केसीले भने, ‘शैलुङ इन्टरप्राइजेजका ठेकेदार शारदाप्रसाद अधिकारीले अहिलेसम्म बाँकी सम्झौताअनुसार मल समयमै आयात गर्छु भनिरहेका छन् तर उहाँको छाँटकाट हेर्दा बाँकी समयभित्र पनि मल आउला जस्तो देखिँदैन,’ प्रवक्ता केसीले भने ।

यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी हुन् ।

३० भाद्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको