नेपाल टेलिकमको सिमकार्ड अभाव


असार ३१, बाग्लुङ | बागलुङमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् ।

टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ । गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए । “वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्”, उनले भने। चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।

टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताइन् । एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताए । “हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ”, उनले भने, “बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।” रासस

३१ असार २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको