साँच्चै मन लाेभ्याउने राेल्पा गंगादेवका सुन्दर दृश्यहरु [फोटो फिचर]

चैत २, राेल्पा । प्रदेश नम्बर ५ अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको गंगादेव गाउँपालिका पनि एक हो । दशवर्षे जनयुद्वमा बलिदान गर्ने शहिद गंगा र देवको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको हो ।

यस गाँउपालिकाको केन्द्र सानाडाँडामा रहेको छ । रोल्पा जिल्ला सदरमुकाम लिबाङदेखी करिब ६५ किलाेमिटर उत्तर पश्चिम भागमा अवस्थित रहेको छ । साबिकका चारवटा गाबिसहरु जिनाबाङ, ओत, पाखानी र राँकलाई मिलाइएर याे गाउँपालिका बनाएको हो ।

यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ७ वटा वडामा विभाजन गरिएको छ ।

गंगादेव गाउँपालिकाको सिमाना पूर्वमा माडी गाउँपालिका र परिवर्तन गाउँपालिका, दक्षिणमा त्रिवेणी र माडी गाउँपालिका, पश्चिममा सल्यानकाे बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका, उत्तरमा रुकुम त्रिवेणी गाउँपालिका रहेका छन ।

समुन्द्री सतह देखि करिब ९ सय मिटर देखी २५ सय मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस गंगादेव गाँउपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । पर्यटकीय हिसाबले यहाँका गाउँहरु अत्यन्तै सुन्दर एवम् मनमोहक देखिन्छ ।

यस गाउँपालिकाकाे १ र ३ नम्बर वडाहरु हरित वडाका रुपमा परिचित छन् । सरसफाइको प्रतिक भनेर चिनिने हरियो रंङले गाउँ हरियाली बनेको छ । एक हजार भन्दा धेरै घरधुरी रहेकाे यी वडाहरूमा एउटै रंग लगाइएका छन् ।

यसपटक हामीले गंगादेव गाउँपालिकाकाे वडा नम्बर १ मा रहेकाे ओत, वडा नम्बर ३ मा रहेका गाेठीखाेला, नाउली, झ्याम, कुकुरगारे, बडाढुंगा लगाएतका गाउँहरूका तस्बिर प्रस्तुत गरेका छाैं ।

तस्विरहरु: खकेन्द्र केसी

प्रतिक्रिया दिनुहोस