खाडीबाट परदेशी कामरेडको भाबुक पत्र: डियर कमरेड प्रचण्ड !


डियर कमरेड प्रचण्ड !

कुन मुखले भनौ तपाईं सुप्रीमो ?
कुन हातले लेखौ तपाईं कमान्डर ?
कुन भावले सम्बोधन गरौ ?

जनयुद्धको अग्रगामी छलाङ पछि सिधै नातागोता, आफन्त, परिवारजनको सदस्य च्यापेर धनयुद्व गर्नु भएको जगजाहेर नै छ । क्रान्तिको बाटो भुल्दै प्रतिक्रान्ती र प्रतिक्रियावादीहरु संगै साँठगांठ भएको पनि हामीले देखेकै छौ, भोगिरहेका छौ ।

आम नेपालीले तपाईंको खेदो खनिरहदा हामी क्रान्तिकारीहरुले मात्रै तपाईंको खोक्रो कति बचाऔं ? कति तपाईंको निम्ति लडौं ? कति तपाईंको निम्ति भिडौं ? दाजुसंग, भाइसंग, आफन्तसंग । सायद संसारमा गाली खाने मान्छेहरुको गिनिज बुकमा नाम लेखिएको हुन्थ्यो भने बिस्वमा सबै भन्दा पहिले तपाईंकै नाम अगाडि आउछ होला, तै पनि हामीले काँध थापेकै छौँ, खुट्टा पछारेकै छौँ, वचन फालेकै छौँ, ज्यान फालेकै छौँ ।

कमरेड, यो सब गर्न हामीले पहिले देश र जनताको लागि सोचेका थियौं । हामी सुन्दर अनि समृद्धि नेपालको बारेमा सोचेर एक बचनमै मर्न र मार्न राजी भयौं । तर हामी गलत रहेछौं, हामी तपाईंको लागि लडेका रैहेछौं भन्ने कुरा तपाईं आफ्नै ब्यबहार शैली र आचरणले प्रष्ट पार्छ ।

अचेल कमरेड भन्न पनि डर लाग्छ, सुप्रीमो को त कुरै छोडौं । कतै तपाईंकै अंगरक्षकले मुक्का हानलान भन्ने पिर छ । जनयुद्धको बेला मर्न नडराउने अनि मार्न नडराउने ति लालशेनाहरु अचेल खाडी तिर भबिस्य खोज्दैछन, कोरिया तिर हलो जोट्दैछन अनि जापान तिर भाँडा माझ्दैछन र पनि जनयुद्ध भुलेका छैन्न अनि कहिल्यै भुल्ने पनि छैन्न ।

कम्युनिस्टबाट कमाउनिष्ट हुँदै, आध्यात्मकवादको जालोमा फसेर पुजिवाद लडेर प्रतिक्रियावादीसंग मिलेर जनयुद्धको अपमान गर्दा अब खुल्ला मन्चबाट जति चिच्याए पनि लालशेनाले सुन्दैन्न, हतियार बोक्दैन । राता मान्छेहरु सल्बलाउदैन्न बरु चुप बस्छन, अनि भबिस्य खोज्छन त्यसैमा रमाउछन । हिजो अस्ति तपाईंको निम्ति गर्धन र ज्यान थाप्ने मान्छेले आज तपाईंलाई नै नानाथरी गाली गर्छ्न – र पनि तपाईंले कहिल्यै आत्मसमिक्षा गर्नु भएन । एकलौटी शासन प्रणाली जस्तै वरपर मात्रै प्रचन्डै प्रचण्ड देख्नु भयो ।

फलस्वरूप प्रतिक्रियावादको जरामा बसेका केपि ओलिसंग पार्टी एकताको नाममा आफैलाई बिसर्जन गर्नु भयो ।

कमरेड ‘म’ मा तपाईं संग बहस गर्ने हैसियत त छैन, सम्बोधन पनि बारम्बार मैले ‘तपाईं’ भनेर गरिरहेकोछु । यसको मतलब यो नसम्झिनुस कि ‘तपाईं नै महान’ हुनुहुन्छ । म मामुली कुल्लीले ‘तपाईं’ लाई कसरी ‘तिमी’, ‘त’ भनेर सम्बोधन गरौं ? उमेरको हिसाबले पनि, बौद्धिक हिसाबले पनि, ब्यबहारिक हिसाबले पनि मैले ‘तपाईं’ लाई ‘त-पाई’ भन्ने हिम्मत राखेन ।

कमरेड, रोल्पा रुकुमका ती जनतालाई अचेल सम्झिनु हुन्छ कि हुदैन ? जसले खादै गरेको गाँस छुटाएर तपाईंको भाग राख्दिएका थिए, लगाउदै गरेका कपडा उतारेर तपाईं लगाइदिए । गर्दै गरेका काम छोडेर तपाईंको भाषण सुन्न चौतारी कुदेका थिए । गोल्ड स्टार जुत्ता च्यातिएर फाट्दा तपाईंको पाउमा काँडा बिझ्ला भनी बाटो वरपरको काँडा पन्छ्याउदै हेडेका ती राता मान्छेहरुको याद आउँछ कि आउदैन ?

एक्लो सन्तान जो तपाईंकै नेतृत्वको जनयुद्धमा होमिएर बृद्धअबस्थाका बाउ-आमा छोडेको दिनले तपाईंलाई अचेल पोल्छ कि पोल्दैन ? तपाईंकै पार्टी र कार्यकर्ताको लागि चिठी र क्यासेट बोक्ने म जस्ता हजारौं परदेशिहरुको पसिनाले तपाईंलाई अबस्य पोल्नु पर्ने हो ।

कमरेड, उमेर बढ्दै गएपछि, सोच्ने र गर्ने मनस्थितिमा ह्रास आउँछ भन्ने सोचेर नै तपाईंले जनयुद्धको विसर्जन गरि त्यही युद्धकालमा तपाईंकै टाउकोको मूल्य तोक्नेहरुसंग हातेमालो गर्नु भएको रहेछ, भन्ने कुरा टिभी च्यानल, विभिन्न सभाहरुमा तपाईंले दिनु भएको अभिव्यक्तिबाट स्पस्ट हुन्छ ।

तपाईंमा कि मरिन्छ कि मारिन्छ, कि गरिन्छ कि गराइन्छ, कि सकिन्छ कि सकाइन्छ भन्ने आत्मबलको कमिकै कारण अहिले नेपाली जनताले दुख भोगेका हुन । तपाईं तालिवान हुन डराउनु भयो, सुलेमान हुन तर्सिनु भयो । त्यसैले तपाईं प्रती नेपाली जनता आजित भएका हुन ।

कमरेड खासमा बिना मनोबल नै दस बर्ष युद्धको बाटो बिना विकेक हिड्नु भएको रहेछ, हिडाउनु भएको रहेछ भन्ने कुरा अहिले छर्लङ्ग नै छ । त्यो अबस्थाका नेपाली जनता पनि उस्तै जे भन्यो त्यही मान्ने जे गर्‍यो त्यही सहि लाग्ने, एक किसिमले नेपाली जनताको चेतनाको कमिलाई तपाईंले भरपुर प्रयोग गर्नु भयो । तर देश र जनताको लागि नभएर, शोषित पिडित जनताको लागि नभएर, सम्पुर्ण सरबहाराको लागि नभएर तपाईंले तपाईंको लागि प्रयोग गर्नु भयो । तपाईंको आफन्तको लागि प्रयोग गर्नु भयो । आफ्नो ज्वाइँ जेठान, छोरी बोहारिको लागि प्रयोग गर्नु भयो । त्यही कुरा अहिले राता मान्छेहरुले बुझेर तपाईं प्रतिको आलोचना गरेका हुन, म पनि त्यही भित्रको एक पात्र हुँ ।

जनयुद्धको बेला मलाई तपाईंको भाषण सुन्ने अबसर कहिले जुट्ला ? कहिले प्रचण्डलाई देख्न पाइएला ? भेट्न पाइएला भनेर मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्थ्यो । तपाईंको त्यो भाषण गर्ने कला, बोल्ने शैली, सम्बोधनिक व्यबहार, त्यो सुनी रहौं लाग्थ्यो, देखि रहौं लाग्थ्यो । तपाईंको भाषण सुनेर शरिरका रौं’हरु पनि ठाडा हुन्थे, नशा फुल्लिन्थ्यो । रगत उमलिन्थ्यो । जोस जाग्थ्यो, जाँगर चल्थ्यो । नखाएर नलाएर भए पनि युद्ध मैदानमा जाउ जाउ लाग्थ्यो । देश र जनताको लागि गरेको भाषणले मरेको मुर्दा पनि उठछ कि झै लाग्थ्यो ।

तर अचेल त्यस्तो लाग्दैन, बिल्कुल लाग्दैन । तपाईंको भाषण सुन्नु पर्ने कान फुटाल्दिउ झै हुन्छ, तपाईंलाई देख्नु पर्ने आँखा घोचिदिउ झै लाग्छ, तपाईंलाई सम्झिने मन फेर्दिउ झै लाग्छ । अहिले न भेट्न मन लाग्छ, न देख्न मन लाग्छ । कतै बाटोमा हिड्दा तपाईंकै छाया देखे पनि थुकेर हिडीदिउ झै लाग्छ । बाटो काटेर, बाटो तर्केर, बाटो फेरेर हिनौं झैं लाग्छ ।

कमरेड मैले अहिले आएर बल्ल बुझ्दैछु तपाईंले त्यतिखेर क्रान्तिको नाममा “इमोस्नल” ब्ल्याकमेलिङ गर्नु भएको रहेछ ।

कमरेड , तपाईंकै कारण बाबुराम, बैध्य रकमरेडहरु चिडिनु भएको हो, तपाईं कारण राता मान्छेहरुको बिचल्ली भएको, घाइते, अपाङ्ग, बेपत्ता परिवारले राहात र चाहात नपाउनुमा पनि तपाईंकै हात छ । तपाईं आफै सम्झिनुस क्रान्तिकारीहरु प्रतिक्रान्तिकारीहरु संग मिल्दाको प्रतिफल त जम्मैले देखेउ र भोगेउ पनि । जनतामा निराशा छाउनुको कारण, राता मान्छेहरुले गैटी बेल्चालाई साथी बनाउनुको कारण, पनि तपाईं भित्र नै छ किनकी तपाईंले अपुर्ण क्रान्ती गर्नु भयो ।

सहि र ठिक तरिकाले क्रान्तिको बिट मारेको भए, आज सारा जनताले तपाईंलाई पुज्ने थिए, तपाईंलाई “किङ मेकर” मानेर घर-घरको भित्ता-भित्तामा नेपाली जनताले तपाईंको तस्बिर राख्ने थिए ।

भगवानको फोटो हटाएर तपाईंको फोटो राख्ने थिए, भगवानलाई पुज्नुको सत्ता तपाईंलाई पुज्ने थिए । सम्पुर्ण नेपाली जनतामा खुसीयालि आउने थियो, युद्धकालमा देखेका सिंगापुरको सपना साकार हुने थियो, देश समृद्धि बन्थ्यो । समाजवाद आउथ्यो । हामी कसैको गुलामी बन्नु पर्दैन्थ्यो । क्रान्तिको बाटो बिराएर संसद भवन भित्र छिरी सके पछि, सहयात्री भुल्नु भयो, साथी छोड्नु भयो, देशलाई सिंगापुर बनाउने सपना देख्न छोड्नु भयो । राता मान्छेलाई भुल्नु भयो, घाइतेलाई भुल्नु भयो, अपांगलाई देख्नै सक्नु भएन – पुजीवादको जरा संसद भवन भित्रै छ भन्ने कुरा थाहा पाउँदा पाउदै पनि टाइ-सुट लगाएर संसद भवन छिर्नु भयो । आफू खुसी हुनु भयो नेपाली जनतालाई दुख दिनु भयो ।

कमरेड अन्तमा, जति गनथन गरे पनि, जति म सच्चा कम्युनिस्ट भने पनि, देश र जनताको लागि खुल्ला चौरमा जति भाषण गरे पनि अब जनताले अब पत्याउदैन्न, पत्याउन छाडि सके । बोल्ने भन्दा गरेर देखाउने समय जो छ । तपाईंको कान सम्म माथी उल्लेखित शब्दहरु नतेर्सिएलान, तपाईंको आँखाले देश र जनता नदेख्ला, तपाईंको मनले नेपाली भनेर नसोच्ला, जे भए पनि जनताको बलिदानी र त्यागलाई लात मारेर कम्युनिस्टबाट कमाउनिष्ट भएर कमरेडबाट ‘काम-रेट’ भएर, प्रचण्डबाट माननीय भएर संसद भवन भित्र जुङ्गा लडाउनु ।

शुभकामना ।।

के एम जलजला रोल्पा ९, रोल्पा, हाल अरबमा

२०७६ फाल्गुन ३,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको