माघ १, काठमाडौं । नेपाली बजारमा ब्राइसन ब्राण्डका इलेक्ट्रिक बस भित्रिएका छन् । एक कार्यक्रमको आयोजना गरी ती बस सार्वजनिक गरिने कार्यक्रम छ ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरोक्सले ती बस आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराउने छ ।
कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व कीर्तिमान बनाएको थियो । अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी प्रदान गरिने हिमालय मोटरोक्सले जनाएको छ ।
यी बसमा प्रयोग भएका इलेक्ट्रिक मोटरले १०७ बीएचपीदेखि १८७ बीएचपीसम्मको पावर प्रदान गर्छ । यसले ६ सय एनएम टर्क प्रदान गर्नेछ ।
यी बसमा प्रयोग भएको ब्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने छ । बसमा ३६ सिट उपलब्ध छन् ।
केही महिनामै सो गाडीको बिक्री नेपालमा प्रारम्भ गरिने र बसको विस्तृत विवरण समेत सार्वजनिक गरिने कम्पनीका म्यानेजिङ डाइरेक्टर सौरभ थापाले बताएका छन् ।
नेपाली बजारमा यति धेरै माइलेज दिने बस नआए पनि एक पटकको फुल चार्जमा ८ सय किलोमिटर भन्दा बढी चलाउन सकिने बस आउने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस