१२ हजार मानिस राज्यसत्ताले मारेको हो, ५ हजारको मात्र जिम्मा लिन्छु: प्रचण्ड

फाइल तस्बिर

माघ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन् ।

बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए ।

‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ प्रचण्डको भनाइ छ । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।

‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन ।

उनले सशस्त्र युद्धताका भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा भने आफूले लिने बताए । ‘तर म नगरेका कामको जिम्मा लिन्नँ,’ उनले भने। हिजो माओवादी आन्दोलनमा लागेका नेताहरू अहिले पनि जेलमा रहेकोले आफू छुटाउन लागिरहेको उनले बताए । मोरङ र गोरखामा नेताहरू जेलमा रहेको उनको भनाइ थियो ।

रेशम चौधरी छुट्छन्

प्रचण्डले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गरिने बताएका छन्।

आफू प्रधानमन्त्री हुँदा पनि भारतमा चौधरीलाई भेटेको बताएका प्रचण्डले भने, ‘रेशमलाई छुटाइन्छ हेर्नुहोला।’ टिकापुर घटनाका मुख्य योजनाकारका रूपमा दोषी देखिएपछि चौधरी डिल्लीबजारस्थित कारागारमा थुनामा छन्।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। प्रचण्डले चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताए।

‘सभामुख र पार्टीलाई भनेर रेशमलाई सपथ खुवाउनुपर्छ भनेर मुख्य भूमिका खेल्ने मै हुँ,’ प्रचण्डले भने। उनले आफूले पहिचान आन्दोलन नभुलेको पनि दाबी गरे।

१ माघ २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको