सरकार विरोधी शक्तिहरु सक्रिय भएः गृहमन्त्री थापा

फाइल तस्बिर

मङ्सिर २९, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटबाट संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताएका हुन् । उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताए ।

यस्तै सरकार विरोधीहरुले सरकारलाई विस्तापित गर्न सकिन्छ की भन्ने प्रयास गरिरहेको पनि बताए । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलले समेत देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको उनको भनाइ छ । तर पनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए ।

अर्को प्रसंगमा थापाले पार्टीभित्र देखिएको अन्तरविरोध स्वभाविक भएको पनि बताए । पार्टीभित्र बसेर सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान हुने उनको भनाइ छ । गृहमन्त्री थापाले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने दावी समेत गरे ।

 

२९ मंसिर २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको