प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफी पत्र- अति गर्नु, अत्याचार नगर्नु


मितिः २०७७/०७/२८
कमरेड के.पी. शर्मा ओली, अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रिय कमरेड,

म लगायत सचिवालयका दुई जना वरिष्ठ नेता कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत ५ जना सदस्यले हस्ताक्षर गरी सचिवालयकै बैठकका निमित्त कमरेडसँग सहमति खोजेको पत्र र त्यसमा गरिएका केही आलोचनात्मक टिप्पणीबारे तपाईंले दिनुभएको दश पृष्ठ लामो प्रत्युत्तर प्राप्त भयो।

सबैभन्दा पहिले त म कमरेडलाई विशेष धन्यवाद दिन चाहन्छु। किनकी आज पार्टी, सरकार र देशकै अगाडि देखापरिरहेका समस्या र चुनौतीहरुका सम्बन्धमा वैचारिक छलफलको विषयलाई ‘खुल्ला गरौं र खुल्ला छलफल गरौं’ भन्नुभएको छ।

साथै कमरेडले पत्रमा ‘कहीँ कतै कमी भए खुल्ला छलफल गरौं, सच्च्याऊँ र अघि बढौं’ पनि भन्नुभएको छ।

मैले तपाईंसँग छलफलमा होस् वा कमिटीका बैठकमा सधैं नै खुल्ला र पारदर्शी वैचारिक, राजनैतिक र सांगठनिक छलफलको आग्रह गर्दै आएको छु। यस सन्दर्भमा तपाईंको यो लामो पत्रले अब पार्टीमा स्पष्ट र खुल्ला वैचारिक छलफल हुनेछ र विधि संगत ढंगले लिइने पार्टीका निर्णयहरु सबैले मानेर जाने वातावरण बन्नेछ भन्ने आशा लिएको छु।

मलाई गहिरो गरी लाग्ने गरेको छ कि आज पार्टीका अगाडि देखापरेका समस्याहरूको प्रमुख र चुरो कारण वैचारिक–राजनैतिक विषयमा  खुल्ला र स्पष्ट छलफलको अभाव, कमिटीहरूको नियमित बैठक र सामूहिक निर्णय एवम् व्यक्तिगत जिम्मेवारीको वैज्ञानिक मान्यताबाट विचलित हुनु हो।

यस अर्थमा पत्रमा उल्लेखित कयौं विषयहरुमा मतान्तर भए पनि अब पार्टीमा हुने छलफल र बहसहरु बढी गम्भीर एवम् विषय केन्द्रित हुनेछन् र मुख्यतः पार्टीका घोषित वैचारिक–राजनैतिक दिशा, कार्यक्रम, विधान र पद्दति अनुरुप हुनेछन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।

अब म पत्रमा उठाइएका कतिपय विषयहरुमा संक्षिप्त टिप्पणी मात्र गर्न चाहन्छु। किनकी तपाईंले उठाएका कयौं विचार, राजनीति, संगठन र आचरण सम्बन्धी विषयबारे मैले सचिवालयमा अलग प्रस्ताव नै पेश गर्दैछु। सो प्रस्तावमा हुने बहस–छलफलले पार्टीलाई नयाँ आधारमा नयाँ एकता कायम गर्न मद्दत पुग्ने विश्वास पनि लिएको छु।
समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आशय हेर्दा मैले दुःखका साथ भन्नुपर्छ कि यो चिप्ला र गुलिया शब्दजाल भित्र प्रस्तुत गरिएको झुटको पुलिन्दा हो।

अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’ का रुपमा महसुस गरेँ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री जस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरुको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ भन्ने कुराले मलाई निकै आश्चर्य चकित र चिन्तित तुल्याएको छ।

हजारौं तर्कभन्दा एउटै तथ्य शक्तिशाली हुन्छ कमरेड। म तपाईंलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु मैले कहाँ र कहिले मन्त्रिमण्डल पुनर्गठनको सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोख्रेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ?

पेरिसडाँडामा बसेको सचिवालयको बैठकदेखि आजसम्म पनि मैले पार्टीलाई संकटबाट बचाइएको कारण स्थायी समितिको बैठकपछि आम पार्टी पंक्ति र आम जनसमुदायमा पनि निकै सकारात्मक सन्देश गएको छ, अब मन्त्रीमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु।

तर, त्यसो भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरुलाई भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु। अझ तपाईंसँग धेरैपटक मुख्यरुपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु पर्छ भन्दै आएको र कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनु पर्छ भन्ने विचार राख्दै आएको सन्दर्भमा तथ्यको र यति भयानक झुटको पर्दाले छोप्ने तपाईंको नियतलाई अब मैले के बुझ्ने कमरेड?
अति गर्नु, अतिचार नगर्नु भन्छन् यो देख्दा त मलाई पनि भन्न मन लागेको छ, ‘इनफ इज इनफ’।

नेताहरुका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एकअर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोज्ने कुराको यो भन्दा ठूलो प्रमाण अरु के हुनसक्छ?

दुुई अध्यक्ष बीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरू चुट्ने नीति अवलम्बन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ। पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ।

तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो। २०७६ माघ ४ गते कार्यकारी अध्यक्षको हैसियतमा मैले पार्टी काममा केन्द्रित हुने र मेरै प्रस्तावमा देशमा सरकार पूरै कार्यकाल तपाईंले चलाउनेसम्मका निर्णय भएको दुई दिन नबित्दै तपाईंले मेरो कार्यकारी हैसियतमाथि सार्वजनिक रुपमा चुनौती दिएर खुल्ला अवज्ञा गर्नुभयो।

केन्द्रीय समितिको दोस्रो बैठकको सफलतापछि त तपाईं र तपाईं निकटका कमरेडहरु भेला नै गरेर अब प्रचण्ड र पूर्व माओवादीमाथि हमलाको अभियान चलाउने निर्णय गर्नुभयो र देशव्यापी अभियान चलाउनु पनि भयो। त्यो प्रक्रियाका उत्कर्ष मेरो अध्यक्षका कुर्सी हटाएर अपमानित गर्ने स्तरसम्म उत्रिनुभयो। त्यतिबेला मेरो ‘गल्ती’ भनेको पार्टीभित्रका सबै प्रवृत्तिहरुलाई समेटेर बैठक सफल पार्नु थियो।

अहिले पनि दुई अध्यक्षका बीचमा जे भएपनि पार्टी एकता अगाडि बढाउनुको विकल्प छैन। समझदारी बनाएर जाउँ भन्ने सहमतिमा कार्यदल गठन गरियो। र, त्यसको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी समितिले ठोस प्रस्ताव पारित गर्‍यो। यो प्रक्रियामा कार्यदलप्रति तपाईं गम्भीर नभएको संकेत कार्यदलको संयोजकले दुबै अध्यक्षलाई भेटेर यसबीचमा विवाद हुने अभिव्यक्ति नदिनु र सरकारबाट विवाद हुने निर्णय नगर्न सुझाव दिएपछि तपाईंले श्रृंखलाबद्ध रुपमा मेरो र वरिष्ठ नेताहरुका विरुद्ध गालीगलौजमा उत्रेका पात्रहरु छानीछानी नियुक्ति गरेबाट स्पष्ट भएकै थियो।

स्थायी समितिको भाद्र २६ गतेको बैठकमा समेत बसेर कमरेडहरुका कुरा सुन्ने, आफ्ना कुरा भन्ने विषयमा तपाईंको अरूचि प्रकट भएको थियो। २९ भदौमा जारी भएको अपानी र तपाईंले आफ्नो पत्रमा गरेका चार बुँदामा २८ गते नै म र महासचिव समेत उपस्थित छलफलमा आफ्नो असहमति जनाउनुभयो।

मैले कमरेडलाई यो त हामीले नै सहमति गरेर स्थायी समितिबाट सर्वसम्मत रुपले पारित भएको विषय हो, अहिले यसलाई हेरफेर गर्न सकिँदैन भनेपछि र हेरफेर नै गर्ने हो भने तुरुन्त स्थायी समितिको बैठक बस्नुपर्छ भन्ने कुरा राखेपछि भारी मनले सहमति त जनाउनुभयो।
तर, त्यसबाट मलाई तपाईं स्थायी समितिको निर्णय कार्यान्वयन गर्ने पक्षमा नभएको शंका उत्पन्न हुनु स्वभाविक थियो।

एकातिर तपाईं कार्यकारी अध्यक्ष दिईसकेपछि गरेर देखाउनु पर्‍यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ। यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के बुझ्ने कमरेड?

राजदूत नियुक्तिका सन्दर्भमा हाम्रोबीचमा छलफल अवश्य भएको हो तर सबै कुरा मिलेको पनि होइन। त्यो भन्दा पनि मुख्य कुरा राजदूत नियुक्ति गर्नुअघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्छ भन्ने मेरो भनाइमा कमरेडले ‘हुन्छ’ भनेर सहमति पनि जनाउनुभयो।
तर, म बालुवाटारबाट निस्किएपछि त्यसै दिनको क्याबिनेटबाट मलाई पनि थाहा नदिई राजदूत नियुक्त गर्नुभयो। अहिले पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड?
एउटा कार्यकारी अध्यक्षले वरिष्ठ नेताहरु एवम् सचिवालयका सदस्यहरुसँग गरेको भेटघाट र सरसल्लाहलाई तपाईं गुटबन्दी ठान्नुहुन्छ। तपाईंले प्रतिष्ठानका नामबाट हुने गुटबन्दीजन्य क्रियाकलाप तत्काल रोक्ने र सचिवालयमा सल्लाह गरेर तिनका बारेमा उपयुक्त निर्णय लिने भन्ने स्थायी समितिको निर्देशन विपरित तपाईं समेतको निर्देशनमा कहीँ जिल्लास्तरीय, कहीँ प्रदेशस्तरीय भेला गरी प्रतिष्ठानका स्थानीय क्रियाकलाप अझ बढाउने र जबजका पक्षमा व्यापक अभियान चलाउन दिएको निर्देशन के हो नि कमरेड?

अनि बालुवाटारमा विभिन्न प्रदेश र जिल्लाबाट बोलाएर रातिराति गरिने भेला बैठकहरु गुटबन्दी होइनन् र? अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको भैंसी पनि नदेख्ने भनेको यही होइन र?

कमरेडले पत्रमा बर्दिवास र पर्सा घटनाको उल्लेख यसरी गर्नुभएको छ कि त्यहाँ मैले नै मारामारी गराउन चाहेको हो। यो भन्दा ठूलो झुट के हुन सक्छ?

कमरेड मुकेश चौरसियाको हत्याको विषयमा जाहेरी दर्ता गर्ने सन्दर्भमा देखिएको जात्रा सबैलाई थाहा छ। यो दोषीले झन् चर्को स्वरमा आफ्नो दोष लुकाउन खोजेको अर्थ लाग्दैन र?

कोरोना संकटबारे प्रश्न गर्न केन्द्रीय प्रवक्ता कमरेडले दुईदुई पटक पत्र लेखेर सचिवालयको बैठक माग गरेको तथ्यलाई के भन्नुहुन्छ कमरेड?

मैले तत्काल बोलाउन अप्ठ्यारो छ भने पनि महासचिवका तर्फबाट पत्रको जवाफ त दिऊँ भन्दा पनि बेवास्ता गर्ने कोभिड–१९का विरुद्ध जुझ्न सबै राष्ट्रिय शक्तिलाई एकतावद्ध गरी केन्द्रदेखि स्थानीय स्तरसम्म सरकारकै नेतृत्वमा साझा संरचना निर्माण गरौं भनेर मैले विषय राख्दा व्यङ्ग्य कस्ने र खिल्ली उडाउने तपाईं अनि हामीलाई दोषी भनेर आरोपित गर्न मिल्छ?

पार्टी एकताको वैचारिक, राजनैतिक, संगठनात्मक र भावनात्मक आधारमाथि प्रहार गर्ने तपाईं अनि यसो नगरौं भनेर आग्रह गर्ने म सधैंको कचकचे हुने? यो तपाईंको दृष्टिदोषको समस्या हो भनेर किन नभन्ने?

तपाईंले नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुरा पत्रमा लेख्नुभएको छ, तर व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी समिति वा केन्द्रीय समितिको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुल्ला रुपमा गरिरहनुभएको छ।

विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेका अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ। पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा पनि आइरहन्छ, यो के हो कमरेड?
यो फेरि अर्को अध्यादेश ल्याएर पार्टी फुटाउने कुरा हो कि? संकटकाल लगाएर जान्छु भन्ने हो कि? सदन विघटन गर्ने कुरा हो कि? मैले बुझ्न सकेको छैन।

कमरेड यो पार्टी एकता गर्ने र यसको रक्षा गर्ने काममा मेरो वैचारिक र भावनात्मक निष्ठा र त्याग तपाईंको भन्दा बढी नै रहेको तथ्य आम पार्टी पंक्ति र जनसमुदायलाई थाहा छ। ‘वाम’ गठबन्धन र पार्टी एकताको प्रस्ताव लिएर म तपाईं कहाँ गएको (रघुवीर महासेठको घरमा) तथ्य कमरेडलाई पक्कै सम्झना होला। पार्टी एकताको निमित्त निर्वाचनपछि प्राप्त भएको प्रधानमन्त्रीको पद त्यागेर आलोपालोको सहमति पनि पूरै तपाईंलाई नै सुम्पने म कचकचे ? यो कस्तो व्याख्या हो।

पार्टी एकताको रक्षा हुनुपर्छ भन्ने कुरामा म आज पनि उत्तिकै दृढ छु। मैले खुला र स्पष्ट वैचारिक, राजनैतिक छलफलको तपाईंको प्रस्तावलाई स्वागत गर्नुको अर्थ पार्टी एकतालाई सदृढ गर्ने नयाँ आधारको खोजी गर्नु नै हो। आवेगमा आएर पार्टी एकता, संविधान र परिवर्तनको प्रक्रियालाई अवरुद्ध गर्ने कुनै काम तपाईंबाट हुनेछैन भन्ने आशा र विश्वास व्यक्त गर्छु।

नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ उचाई तिर लैजानु छ।

एकता–संघर्ष–रुपान्तरण र नयाँ आधारमा नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमिक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनु भयो भने त्यो ठूलो कुरा हुनेछ।
मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ। यत्ति भएमा तपाईंले पत्रको अन्तिममा भने झैं म सजिलै फर्किने छु।

हार्दिक अभिवादन सहित !
……………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
बोधार्थ
सचिवालयका सदस्यहरु

 

२०७७ कार्तिक २९,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको