सल्यानको कपुरकोटमा सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण सम्पन्न


कार्तिक २८, सल्यान । सल्यानको कपुरकोटमा गर्भपतनका क्रममा आउन सक्ने जोखिम, समस्या समाधान लगायत सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामुलक जानकारीहरु प्रदान गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मीहरु र स्थानीय युवा युवतिहरु लगाएतलाई शुक्रबार अभिमुखिकरण गरिएको हो ।

कपुरकोट गाउँपालिकाको समन्वय र भिजिबल इम्प्याक्ट नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक तथा हेल्थ असिस्टेन्ट चरित्र उपाध्यायले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धि पनि जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा महिलाको मन्जुरीमा कानुनले मान्यता दिएअनुसार सूचीकृत स्वास्थ्यकर्मी वा नर्सद्वारा सूचीकृत स्वास्थ्यसंस्थामा गर्भपतन भएमा मात्रै सुरक्षित गर्भपतन मान्न सकिने जानकारी गराइएको थियो । प्रशिक्षक उपाध्यायले महिलाको इच्छा विपरित, जवरजस्ती तथा मान्यताप्राप्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी वाहेकले गर्भपतन गराउनु दण्डनीय रहेको उल्लेख गरे । यस्तै उनले लिंग पहिचान गरी र कानुनी मापदण्ड वाहीर रहेर गर्भपतन गराउन नहुने बताए ।

अभिमुखिकरण कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले असुरक्षित गर्भपतनको अवस्था आउन नदिनका लागि परिवार नियोजनका साधनहरुको पहुँच मा वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने संस्था भिजिबल इम्प्याक्ट र युथ च्याम्पीयन चरित्र उपाध्यायलाई विशेष धन्यवाद ज्ञापन गरे ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । नेपालमा सन २००२ मा नेपालमा गर्भपतनले कानुनी रुपमा मान्यता पाएको हो । जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको २८ हप्ता सम्मको गर्भ सुरक्ष्ति तरिकाले पतन गर्न पाउने ब्यवस्था रहेको छ । कार्यक्रममा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा रहेका ब्यवस्थाहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । शंकर केसीले सहजिकरण गरेको कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रशासन तथा योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाही, सुचना प्रविधि अधिकृत बुद्धिराज पौडेल, इन्जिनियर भुपेन्द्र यरी, कृषि विकास शाखा प्रमुख टिका राई लगाएत स्वास्थ्यकर्मी, स्वयमसेविका लगाएत स्थानीयहरुको सहभागिता थियो ।

२९ कार्तिक २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको