बूढीगण्डकीमा ओली-प्रचण्डले घुस खाएको प्रमाण पेश गर्न बाबुरामलाई नेकपाको चुनौती


असोज २८, काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घुस बाँडेर खाएको आरोपको पुष्टि गर्न नेकपाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।

घुस खाएको प्रमाण सार्वजनिक रूपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्नसमेत नेकपाले बाबुरामलाई चुनौती दिएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर बाबुरामलाई भ्रमको खेती नगर्न पनि आग्रह गरेका छन्। उक्त अभिव्यक्तिप्रति बाबुरामले सार्वजनिक रूपमा क्षमा माग्नुपर्ने नेकपाको भनाइ छ।

‘राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।

अध्यक्षद्वय ओली र प्रचण्डले बूढीगण्डकी परियोजनामा अर्बौं रकम घुस खाएको भन्ने बाबुरामको अभिव्यक्ति आधारहीन, झुठ, गलत र दुरासयपूर्ण रहेकोले खारेज गरिएको नेकपाको भनाइ छ।

केही दिनअघि बाबुरामले गोरखामा आयोजित कार्यक्रममा ओली, दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको आरोप लगाएका थिए। बाबुरामले त्यसको प्रमाण दिन परे पनि आफूले दिने बताएका थिए।

लगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर सभापति देउवाले कमिसन खाएको भन्ने आरोपको पुष्टि गर्न बाबुरामलाई चुनौती दिएका थिए।

बाबुरामले दलहरूले एकपछि अर्को विज्ञप्ति निकालेपछि बूढीगण्डकी परियोजनाबारे सत्यतथ्य छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग गरिरहेका छन्।

२८ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको