असोज २८, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संक्रमणबाट नेदरल्याण्डमा एकजनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।
अनुसन्धानकर्ताहरुले उल्लेख गरेअनुसार ८९ वर्षीया वृद्धाको दोस्रो पटकको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । यद्यपि दोस्रो पटक कोरोनाबाट संक्रमित भएकी वृद्धामा दुर्लभ किसिमको सेता रक्तकोषको क्यान्सर रहेको बेलायती समाचारपत्र टेलिग्राफले बताएको छ ।
अक्सफोर्ड युनिभर्सिटी प्रेसमा प्रकाशित प्रतिवेदनअनुसार यस वर्षको सुरुमा उक्त वृद्धामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनी पाँच दिन अस्पतालमा भर्ना भएकी थिइन् । तर, त्यसपछि उनी कोरोना संक्रमणबाट निको भएकी थिइन् । यद्यपि उनीमा अत्यधिक थकानको समस्या भने बाँकी थियो ।
त्यसको दुई महिनापछि केमोथेरापी लिनुभन्दा दुई दिनअघि मात्र उनलाई पुनः कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको शरीरमा अक्सिजनको मात्रामा उल्लेख्य कमी आएको थियो ।
उपचारको क्रममा कोरोना परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । त्यसको चार र ६ दिनमा परीक्षण गर्दा उनको एन्टिबडी नेगेटिभ आएको थियो ।
संक्रमण पुनः पुष्टि भएको आठ दिनपछि उनको अवस्था झनै बिग्रिन थाल्यो र त्यसको दुई सातापछि उनको मृत्यु भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
अहिलेसम्म अनुसन्धानकर्ताहरुले पुनः संक्रमणको २३ संक्रमित पत्ता लगाएका छन् । तर, यसअघि पुनः संक्रमणको पुष्टि भएका पनि सबै निको भएका थिए ।
प्रतिक्रिया दिनुहोस