आन्दोलनकारीसँग झडप हुँदा सर्लाहीमा दुई डिएसपीसहित २२ प्रहरी घाइते


असोज २८, काठमाडौं । एक दलित व्यक्तिकाे ह’त्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहठवाका डिएसपी उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ प्रहरी घाइते भएका हुन्।

रामनगर ७ सिसौटका महेन्द्र रामको ह’त्याको विषयमा बुधबार प्रहरी कार्यालय घेराउ गर्न सांसद अमरेशकुमार सिंहसहितको समूह पुगेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा हानेपछि झडप भएको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए।

कुँवरको छातीमा चोट लागेको छ भने भाटको हातका औंलाहरू भाँचिएका छन्। उनीहरूसहित अन्य प्रहरीको जिल्ला अस्पताल सर्लाहीमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय घेराउका क्रममा ढुंगा प्रहार हुँदा प्रहरी कार्यालयका सिसाहरू फुटेका छन्। सशस्त्र प्रहरीका १८ वटा ट्रान्सपारेन्ट सिल र नेपाल प्रहरीका १३ ट्रान्सपारेन्ट सिल भाँचिएका छन्। सयौं मानिसले घेराउ थालेपछि सशस्त्र प्रहरी बलबाट डिएसपी सरोज खड्काको नेतृत्वमा एक सय प्रहरी मद्दतका लागि बोलाइएको थियो।

सिसौटमा गत असोज २१ गते बारीमा घिरौंला टिपेको विषयमा दुई पक्षबीच ढुंगा हानाहान भएको थियो। स्थानीय चन्दुनन्न महरा र विनोद महरा पक्षबीच ढुंगा हानाहान हुँदा ६५ वर्षीय महेन्द्र घाइते भएका थिए।

उनको उपचारको क्रममा वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा भोलिपल्ट २२ गते मृ’त्यु भएको थियो। मृ’त्युपछि आफन्तले १० लाख रुपैयाँ क्षतिपूर्ति, सहिद घोषणालगायत माग गरेका छन् ।

२८ आश्विन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको