एकदिन कोभिडलाई अवश्य जित्नेछौँ


यतिबेला विश्व नै कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट आक्रान्त बनेको छ । विश्वका २ करोड १३ लाख भन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् । जसमध्ये ७ लाख ६२ हजारभन्दा बढी मानिसले ज्यान समेत गुमाइसकेका छन् । कोरोनाको महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

साउनयता मात्रै ८ हजार ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सो अवधिमै ६० जनाले ज्यान गुमाइसकेका छन् । सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अन्त्य घोषणा साउन ६ गते गर्यो र साउन ७ गतेबाट १२० दिन लामो लकडाउन खुल्यो । शहरी क्षेत्रमा भिडभाड बढ्न थाल्यो । धमाधम कार्यालय खुल्न थाले । सबैजना आ-आफ्नो काममा फर्कन थाले । ४ महिना थला परेर बल्ल उठेको बिरामी झैँ बिस्तारै बिस्तारै मानिसहरु आफ्नो दैनिकीमा फर्किन थाले ।

तर यो बिर्सिए कि ‘म अझै पूर्ण निको भइसकेको छैन, मैले सावधानी अपनाउन पर्छ’ । त्यसको प्रतिफल आज प्रत्यक्ष पर्न गइरहेको छ ।

पूर्ण तयारीबिना खोलीएको बन्दाबन्दी अर्थात् लकडाउनले आज काठमाडौं लगाएत शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मात्र १ सय १९ जनामा संक्रमण पुष्टि भयो । संक्रमित वृद्धि भएसँगै मृत्युदर र गम्भीर बिरामी भएर आईसीयू र भेन्टिलेटरमा उपचार गराउने क्रम बढ्न थालेको छ । बुधबार एकैदिन १० जनाको मृत्यु भयो जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसैगरी बिहिबार र शुक्रबार पनि ४/४ जना मृतक थपिएको स्वास्स्थ मन्त्रालयले जनाएको छ । उपत्यकामा संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा आइसोलेसन शय्या अभाव हुन थालेको छ । डाक्टरहरुले संक्रमण व्यापक फैलिएकाले आगामी दिनमा मृत्युदर र जटिल बिरामी झन् बढ्ने अनुमान लगाउन थालेका छन् ।

पछिल्लो समय लक्षणसहितका बिरामीको संख्या बढ्न थालेको छ, भने समुदायस्तरमा नै कोरोना संक्रमित फेला पर्न थालेका छन् । जसले गर्दा नेपालमा पनि कोरोना संक्रमणको स्थिति भयावह हुने सम्भावना अझै प्रबल हुँदै गैरहेको छ । कोरोना समुदायस्तरमा फैलिनु भनेको परिक्षणमा कठिन हुनु हो । क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण सजिलो भए पनि समुदायस्तरका मानिसमा संक्रमण भएमा बिरामी भएपछी मात्र चेकजाँच गर्न जाने स्थिति रहन्छ । संक्रमण पुष्टि नभएसम्म उनीहरु समाजका अन्य व्यक्तिसँग खुल्लमखुला घुलमिल गरिरहेका हुन्छन् । जसको कारण समुदायमा दिन दुई गुणा रात चौगुणाले कोरोना संक्रमण फैलिने सम्भावना रहन्छ ।

त्यसैले हामीले अझै सजक हुने बेला आएको छ । मास्क लगाउने, सेनिटाइजार दल्ने, साबुनपानीले हात धुने मात्र नभई सामाजिक दूरी कायम राख्ने काम अनिवार्य बनाउनु जरुरी हुन्छ । यस काममा युवाहरुको अझै महत्वपूर्ण भूमिका रहन्छ र युवाहरु यो काममा सक्रिय भएर लाग्नु जरुरी छ । यतिबेला युवाहरु आफ्नो घर परिवारलाई सजक र सचेत बनाउँनतिर लाग्नुपर्ने बेला आएको छ । हामीले हाम्रै लागि हो भनेर सोच्नु जरुरी छ ।

देशको लागि नसोचे पनि सबै नागरिकले कम्तिमा आफ्नो र आफ्नो परिवारको बारेमा सोच्ने हो भने मात्र पनि कोरोनालाई परास्त्र गर्न सकिन्छ ।प्रत्येक परिवार सजक र सुरक्षित रहेमा समुदाय र देश आफैँ सुरक्षित रहन्छ । यतिबेला सरकारको मुख ताक्ने र आलोचना गर्ने भन्दा पनि आफ्नो सुरक्षा आफैँ गर्नु उपयुक्त हुन्छ । किनभने कोरोनको औषधि न सरकारसँग न त कुनै अस्पतालमा नै । त्यसको औषधि भनेको हाम्रो सतर्कता हो ।

हाम्रो सानो कमजोरीले गर्दा नै आज कोरोना समुदायस्तरमा फैलिएको छ । अझै यस्तो भुल गर्ने हो भने भोली समुदायस्तरबाट कोरोनाले घर घरमा प्रवेश पाउँनेछ । त्यसैले अब हामीले सजक बन्नैपर्ने बेला आएको छ । हामी आज संयम हुन सकेनौं भने भोली पश्ताचाप बाहेक अरु केहि रहनेछैन । ज्यान रहे त पश्ताचापसम्म पनि गर्न पाइएला यदि ज्यानै रहेन भने …!?

ज्यान रहे त आफन्तसँग पछि भेटौंला फेरी रमाइलो गरौंला अनि पहिलाकै स्थितिमा फर्कौंला । त्यसैले अहिली भने हामी सजक बनौँ अनि अरुलाई पनि सजक गराउँ । हामीले भोली होइन अहिल्यै र आजै सजक बन्ने हो भने एकदिन कोरोनालाई अवश्य जित्नेछौँ ।

३० श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको