भरतपुरमा निषेधाज्ञा जारी


साउन ३०, काठमाडौं | जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२:०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उनले बताए। पछिल्लो समय चितवनमा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नु परेको उनको भनाइ छ ।

महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ९९ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ ।

अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म पसल खोल्न दिइने बताइएको छ । रासस

२०७७ श्रावण ३०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको