नेकपाभित्र सतिबयरको सम्बन्ध


हाम्रो गाउँमा एउटा रुख हुन्थ्यो । त्यो रुखमा गनिसाध्ये नहुने आँख्लोजस्तो भेट्नो हुन्थे । अनि भेट्नैपिच्छे पात पलाइरहेका हुन्थे । पात पनि एकै किसिमको हुँदैनथ्यो । कुनै रातो हुन्थ्यो, कुनै पहेंलो हुन्थ्यो । हामी त्यो रुखमा फल्ने दाना प्रजातीको गेडुल्को टिपेर घर जान्थ्यौं । त्यो दाना चाख्दा अमिलो हुन्थ्यो । काँचो चाखे पनि पाकेको चाखे पनि अमिलो । कसले किन कसरी नाम राख्यो थाहा भएन तर त्यो रुखलाई गाउँमा सतिबयर भन्थे । बयर भनेरै हामीले त्यो अमिलो फल धेरैपटक चाखेका छौं ।

मलाई त्यो सतिबयर, त्यो रुखको भेट्नो, भेट्नैपिच्छे पलाएका बहूरङ्गी पात, त्यसको अमिलो स्वाद सम्झेर सत्तामा बहालवाला नेपाल कम्युनिष्ट पार्टी उर्फ नेकपाको दारुण दृष्य खुब याद आइरहेको छ ।

अहिले सत्तारुढ नेकपाभित्र आँख्ला र भेट्नो गनेर साध्ये छैन । पार्टीको संगठनमा मात्र होइन बिचारमा पनि उत्तिकै आँख्ला र भेट्नो छन् । संगठनको आँख्लो गुटहरुमा बाँडिएका छन् । गुटहरुको पनि उपगुटमा भेट्नोहरु पात हालिरहेका छन् । पातहरु पनि एकनासका छैनन् बहूरङ्गी छन् । ती भेट्नोहरुको नेतृत्व सचिवालयमा रहेका सबैले आआफ्नै स्वार्थ समूह बनाएर गरिरहेका छन् । यसो भनौं नेकपाको सचिवालय भनेको नै गुटहरुको सङ्कलित रुप हो ।

त्यहाँ केपी ओलीको आफ्नै गुट, पुष्पकमल दाहाल प्रचण्डको आफ्नै गुट, माधवकुमार नेपालको आफ्नै गुट, झलनाथ खनालको आफ्नै गुट, नारायणकाजी श्रेष्ठको आफ्नै गुट, बामवेदव गौतमको आफ्नै गुट । अब यी गुटहरुभित्रका उपगुटहरुको त हिसाबै नगरुँ । तास खेल्न कोरम नपुग्ला तर नेकपामा गुट बनाउन तास खेल्ने जति सदस्य पनि चाहिंदैन गुट उपगुट बनेर हाहाहूहू शुरु भइहाल्छ । त्यो कोलाहल विधिभित्र रहेर पार्टी संरचनामा हुँदैन, चोक चौतारो, चिया पसल, होटलका चोटाकोठा वा सामाजिक सञ्जालमा छ्यालब्याल हुन्छ ।
अनि शुरु हुन्छ फलानो र ढिस्कानोको कथा । घनश्याम भुषालको शब्द सापटी लिएर भन्ने हो भने यी स्वार्थ समूह वा गुटउपगुट एक अर्कालाई नंग्याउन यसरी सक्रिय छन् कि सबै कुरा नांगो नै भइसक्यो । गाँड कोराकोर कतिसम्म उत्कर्षमा पुग्न थालेको छ भने सगोलमा भेट भयो भने यिनीहरु कोखाबाट दाह्रा निकालेर एकअर्कालाई घोच्न तम्तयार भएर बसेका आसुरी प्रवृत्तिका सिपाही जस्ता देखिन्छन् । घनश्याम भुषालले ठीक भने— ‘पार्टीमा सबै थोक देखिन्छ तर केही पनि देखिन्न ।’

यो त संगठनको नियति भयो ।
विचारको नियति यो भन्दा कम छैन ।

मदन भण्डारीकृत भनिएको जनताको बहुदलीय जनवादको एउटा पखेटा फटफटाइरहेको छ । २१ औं शताब्दीको अर्को पखेटा उस्तै फटफटाइरहेको छ । दक्षप्रजापति र गणेशको रुप जस्ता मानिएका र ठानिएका यी विचारहरुबीचमा सघन घर्षण छैन तर घर्षणको ल्याङल्याङ निरन्तर छ । कोही ‘तपाई जबजको जिम्मा लिने हो ?’ भनेर सोधिरहेका छन् कोही ‘मलाई जबजको प्रवक्ता मात्र बनाउन खोजियो’ भनेर रोनाधोना गरिरहेका छन् ।

पार्टी एकीकरण हुँदा केपी ओली र प्रचण्डको ‘चोचोमोचो’ र ‘मिलिभगत’मा तयार भएको भनिएको नयाँ जनवादको पखेटा न जीऊमा छ न भुईमा । समाजवाद र साम्यवादको डिङ हाँक्दाहाँक्दै पार्टीको बैचारिक धार यस्तो भासमा पखेटा पिंmजाइरहेको छ कि त्यसलाई तान्ने ‘हिम्मतवाला’ रेखा थापाको कथानक चलचित्रबाट ल्याउनपर्ने भएको छ ।

घोषणा एकातिर, नीति एकातिर, कार्यक्रम एकातिर बनाएर बजाइएको समाजवादको धुन यति उच्चाटलाग्दो बन्दै गइरहेको छ कि पार्टीभित्रको चालिसे बर्ग मात्र होइन तीनबीसे समूह पनि घर न घाट भन्दै बैराग्य रागको बाँसुरी बजाइरहेको छ । यहाँ पनि मलाई सतिबयरको खुब याद आइरहेको छ । भेट्नैपिच्छे विचार, भेट्नैपिच्छे फरक फरक रंगका पातहरु । अनि बाँसुरीका पनि प्वालैपिच्छे फरकफरक स्वर । छैन त गज्जब ?

पार्टी एकता हुनुअघि प्रचण्ड एकातिर बाबुराम भट्टराई र उपेन्द्र यादवसँग एकताको घनिभूत सल्लाहमा थिए । अर्कोतिर छापामार शैलीमा नेकपा एमालेसँग पनि प्रचण्डको एकता संवाद उत्कर्षमा थियो । प्रचण्ड बिहान एउटा पक्षसँग र साँझ अर्को पक्षसँग उस्तै जबरजस्त शैलीमा एकताको पटकथा तयार गर्दै थिए । त्यो बेला एमालेसँगको एकता संवाद निश्कर्षतिर जाँदै गर्दा उनले दिएको एउटा अभिव्यक्तिमा भविश्यको जटिलताबारे गहन तर सार्थक अनुमान लगाइएको थियो ।
प्रचण्डले भनेका थिए —‘दुईवटा पार्टी, दुईवटा बैचारिक धारा र दुईवटा आन्दोलनको विकासबाट आएका छौं । त्यसकारण सम्मानजनक एकताको मोडालिटी खोज्ने चुनौती छ । अहिलेका लागि महाधिवेशनसम्म दुईवटा अध्यक्ष रहने भनेर हामी टुंगोमा पुगेका छौं । तर त्यो दुईवटा अध्यक्ष वास्तवमै दुईवटा अध्यक्ष कार्यकारी हुन्छन् कि एउटा अध्यक्ष सेरेमोनियल, एउटा अध्यक्ष एक्जुकेटिभ हुने अवस्था हो भन्ने कुरा निक्र्योल भएको छैन । यदि त्यसो भयो भने त्यसले चाँहि समस्या पार्छ ।’

अहिलेको समस्याको गाँठो फुकाउन योभन्दा माथि पनि जान पर्दैन तल पनि फर्कन पर्दैन ।

नेकपाको एकता प्रक्रिया प्रचण्डले भनेको त्यो पहिलो जटिलतामै अहिलेसम्म अड्किरहेको छ । ‘म आत्मसम्मान र स्वाभिमानमा सम्झौता गर्न सक्दिन’ भन्ने प्रचण्ड जब ‘न सेरेमोनियल न एक्जुकेटिभ हैसियत’मा पुगे त्यही बिन्दूबाट नेकपाको एकता प्रक्रिया थाङथिलो हुन शुरु भएको हो ।
तपाईलाई लाग्ला दुई पार्टीबीच एकता त भइसक्यो !
होइन ।

एकता महाधिवेशन नहुन्जेलसम्म एकता प्रक्रिया पूर्णतामा मान्नुभयो भने त्यो तपाईको दोष हो । मैले त आजसम्म पूर्व माओवादी केन्द्र र पूर्व एमाले एक भएको संश्लेषण न सुनेको छु न देखेको छु । हिजोदेखि आजसम्म नेकपा दुईमा एक, एकमा दुईकै स्थितिमा छ ।

अहिले जति स्वार्थसमूह गतिशील भइरहेका छन, अहिले जुन बैचारिक पक्षपोषण निरन्तर छ, अहिले पार्टीभित्र जसरी राजनीतिक अस्थीरता व्याप्त छ, अहिले जसरी पार्टी गतिहीन र अकमण्र्य छ, अहिले जसरी पार्टीभित्र एउटा समूह अर्को समुहलाई नंग्याउन ज्यान फालेर लागिरहेको छ, तपाईलाग्छ यहाँ पार्टी एकताको शेष बाँकि छ ? क्लेष र द्वेषले भरिएका दुई सिंग भएका जनावर राख्दा जस्तो दृष्य देखिन्छ त्यस्तो दृष्य त नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा पनि नदेखिने परिदृष्यका हामी साक्षी हुँदै गइरहेका छौं । यस्तो बेलामा हामी काँध थाप्ने कि मलामी जाने ? यो गम्भीर प्रश्नले मलाई चिमोटिरहेको छ ।

पेल्दै पेल्दै, ठेल्दै ठेल्दै, ‘इग्नोर’ गर्दै गर्दै भित्तामा पुग्नलागेको अवस्थामा प्रचण्ड बोल्नु त्यतिबिधि अस्वाभाविक नहोला । पछिल्लो तीन महिना अध्यक्षको हैसियतमा प्रचण्डले सम्हालिएर बोले, जिम्मेवार भएर बोले मेरा लागि त्यही नै अचम्म हो । तर पहिलेको एमालेभित्रको शक्तिसङ्घर्षको परिणाम न प्रचण्डले खुट्टा चलाउन सके न हात चलाउन । यसलाई उनले ‘पार्टीभित्रको सङ्घर्ष पार्टीबाहिर समाजमा चलेको सङ्घर्षको रिफ्लेक्सन’ मानेर सङ्घर्षकै माध्यमबाट एकता बलियो बनाउने सङ्कल्प गरे ।

तर प्रचण्डले समाजवादी आन्दोलनको बहसबारे एंगेल्सको भनाई सापटी लिएर ‘सङ्घर्ष र रुपान्तरणको प्रक्रियाबाट जाँदा एकता मात्र हासिल हुँदैन विभाजन पनि हुनसक्छ’ भनेर आफ्नो विकल्प सुरक्षित पनि गराएका छन् ।

प्रचण्डले एकीकरणअघि नै आफ्ना विश्वासप्राप्त नेताहरुलाई भेला गरेर भनेका थिए— ‘पार्टी एकताको पुल तर्दा हामीले साँघु भाँचिसकेका छौं ।’ लेखराज भट्ट प्रकरणमा पनि प्रचण्डले ‘पुल भत्कायौं पछाडि फर्कन सकिन्न’ भनेर दोहोर्याएकै रहेछन् । तर क्रमभंग गर्ने साहस बोकेका नेताको पहिचान बनाएर प्रचण्डले ‘म जहाँनेर छु त्यहाँबाट देशको हित नहुने भन्ने लाग्यो भने अर्को फड्को हान्न बेरै मान्दिन’ पनि भनेका थिए । यहीबेला हो पूर्व एमालेका तात्कालीन एकजना सचिव तथा हालका बहालवाला एकजना मन्त्रीले ‘फड्को हान्दा भड्खालोमा परिएला’ भनेर सचेत गराएको ।

नेकपामा मेरो गोरुको बाह्रै टक्का जारी छ । प्रधानमन्त्रीको रुपमा केपी ओली राजेन्द्र महर्जनकै शब्दमा ‘लोकतन्त्रको नीजिकरण’ र विद्रुपीकरण गर्नै मस्त छन् व्यस्त छन् । अलकत्राले बने पनि माल्दिभ्सको माले अन्तर्राष्ट्रिय विमानस्थल कहिल्यै सुरक्षित छैन भन्ने प्रधानमन्त्रीलाई लागेकै छैन । यो तुष बढ्दै जाँदा बहस र विवादका एकजना केन्द्रीय चरित्र प्रधमानमन्त्री ओली सुन्न र बोल्न नचाहने गम्भीर दोष बोकिरहेका छन् । किनकि, ओलीले तत्काल नेकपाबाट कोही कसैको विद्रोहको गुञ्जाइस देखेको छैन । किनकि प्रचण्ड आफैं कापेमा छन्, चेपमा छन् । साँघु तर्दा पुल काटिसकेको नियतिको शिकार छन् प्रचण्ड । माधवकुमार नेपाल, झलनाथ खनालले प्रचण्डको काँधमा बन्दुक राखेर खेलिरहेका मात्र हुन् उनीहरु अर्को कुनै राजनीतिक दलको पसल खोलेर जानेवाला छैनन् । अरु खेलाडी थर्कीमा छैनन्, च्याँखे दाउ थाप्ने हुन् हिसाबै भएन ।

अफसोच, नेकपाका कार्यकर्ता पनि गाँड कोराकोरमा नेताहरुकै काँध थापेरै बसिरहेका छन् । यिनीहरु सति जान तयार छन् तर बोल्दैनन् । यस्ता बाह्रमासे कार्यकर्ता उत्पादन भएपछि घनश्याम भुषालले किन नभनून् — सबैथोक छ तर केही पनि छैन ।

देश त हो, आखिर चलिरहेकै जो छ ।

 

३० श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको