सिन्धुपाल्चोकमा भीषण पहिरो, १५ घर पुरिए

फाइल तस्बिर

साउन ३०, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १५ घर पुरेको छ । पहिरोमा पुरिएर केही घरका मानिस सम्पर्कविहीन बनेका छन् । केही मानिसले भागेर ज्यान जोगाएका छन् । बस्तीमाथिबाट आएको पहिरोले घरहरु पुरेको हो ।

पहिरो खस्ने क्रम जारी रहेको र जमिन पनि भासिएकाले उद्दारमा कठिनाई भएको बताइएको छ । पहिरोले घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको स्थानीयले बताएका छन् । नजिकै प्रहरी र अर्को बस्ती पनि नभएकाले उद्दारमा समस्या भएको पहिरो प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

नजिकै पर्ने कात्तिकेभन्ने स्थानवाट पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिडेर मानिस पुग्ने सम्भावना कम भएकाले हेलिकप्टरमार्फत उद्दारको प्रयास भैरहेको गाँउपालिकाले जनाएको छ । बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भैरहेको जानकारी दिएका छन् ।                                                                                      १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

३० श्रावण २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको