नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु


जेठ ३२, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ |

गुल्मीका कोरोना सङ्क्रमित एक व्यक्तिको गए राती मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो | स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको हो ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो ।

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेसनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगी समेत थिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।

यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटवलमा निधन भएको थियो ।

नेपालमा आज थप ४ सय २५ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

त्यस्तै हालसम्म ९ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

३२ जेष्ठ २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको