फुल फुल्ने बारम्बार मान्छे फुल्ने एकबार


पृथीछक बुढा मगर/रुकुम पुर्ब । मान्छे मरेर जान्छ तर प्रेम अमर रहने रहेछ । जमराज बुढाको श्रीमती खुजी बुढाको देहावसान भएको दशक बित्न लाग्यो तर जमराजको मन भित्रको प्रेमलाई कहिलै ओइलिन दिनु भएन । बरु त्यसका अबशेषहरुलाई आफ्नो शेषपछि पनि दुनियाँको अगाडी चिनोको रुपमा जीवितै राख्ने सोच बनाउनु भयो । स्वार्थमा रुमलिरहेका नयाँ जमानाका प्रेमिहरुलाई गतिलै जवाफ दिनुभएको छ ।

प्रेमको नाममा कसैले ताजमहल बनाए । कसैले रानी महल बनाए । जमराजलाई न ताजमहलको नाम थाहा छ न रानी महलको नाम थाहा छ । उहाँले कसैको सिको गरेको होइन । केवल श्रीमतीको नाममा केही न केही बनाउन खोज्नु भयो । उहाँले बटुवाहरुको लागि धर्मशाला र पानी नभएका सुख्खा डाडाहरुहरुमा पानी पानीको धारो बनाए । चौतारी चिन्नु भयो । बिसौनीहरु बनाउनु भयो । अझै बनाउने क्रममा हुनुहुन्छ । उहाँले भन्नुहुन्छ, नमरुन्जेलसम्म कामै यहि हुनेछ ।

सात दशक पार गरिसकेका रुकुम पुर्ब पुथाउत्तरगङ्गा गाउँपालीका वडा नम्वर ३ रन्मा गाउँ निबासी जमराज बुढाले ५ दशक अघि हुकामबाट बिबाह गर्नुभएको थियो ।

गाउँमा ‘झ्योताउ’ नामले पनि चिनिने जमराजको गाउँको पुच्छारमा परम्परागत शैलीबाट बनेको घर छ । ‘झ्योताउ’ भनेको मगर खाम कुरामा ‘अग्लो’ भन्ने अर्थ हुन्छ । उहाँको घर सबभन्दा अग्लो भएकाले ‘झोताउ’ भनिदै आएको गाउँलेहरुको कहावत छ ।

त्यो अग्लो घरमा खुजी बुढा र जमराज बुढाले जुग कटाए । सुखदुःखहरु भोगे । बुढाबुढीको बिचमा असीमित प्रेम थियो । घर सधैं शान्त थियो । सायद छोराछोरी नभएकाले हो कि ? छोराछोरी नजन्मेकोमा कुनै गुनासो थिएन जमराजलाई । खुजीले जमराजलाई कान्छी बिहे गर्न पनि नसुझाएको होइन । तर जमराजले कहिलै दोस्रो बिहे गर्नु भएन ।

तीन बर्ष अघि जमराज बुढालाई काधमा काठहरु बोकेको अबस्थामा माई पुजाको बिसौनीमा भेटेको थिएँ । कुराकानीको क्रममा उहाँले मसंग भन्नू भयो, ‘बच्चाहरु हुनु राम्रो कुरा हो, नभएपछि त्यसमा गुनासो पनि छैन । फुल फुल्ने बारम्बार, मान्छे फुल्ने एकबार । एकबारको जिन्दगीमा बुढाबुढी दयामायाले बिताउन खोजेको हो तर उनले साथ छोडेर लोकमा गए ।’

माईपुजाको बिसौनीमा भेटेको एक महिनापछि मलाई काठमाडौ आउनु प-यो । यहि क्रममा घम्रो लाखुरीको बिसौनीमा विश्राम लिएँ । मलाई आश्चर्य लाग्यो कि सहत्तरी काटेको त्यो बृद्ध मान्छेले त्यो उजाड लाग्दो घम्रोमा पानी ल्याउनु भएको थियो । एक महिना अघि काधमा बोकेर ल्याएका काठहरुको प्रयोगबाट धर्मशाला बनाएका थिए । धाराको छेउमा लाखुरीको सानो बोट रोपिएको थियो । त्यो लाखुरीको बोट, त्यो पानीको धारो, चौतारी, धर्मशाला आफ्नी मृत धर्मपत्नीको नाममा बनाएका थिए ।

त्यो हिमाली पाखा, रुख बिरुवा नभएको नाङ्गो पहाडी डाडामा पाइप बिछ्याएर पानी ल्याउनु एकजना मान्छेको लागि चानचुने बिषय थिएन । अन्जुली थापेर घट्घट् पानी पिएको थिएँ । गला अबरुद्ध बनाउने खालको चिसो पानी । उहाँलाई थाहा छैन हिन्दु, मुसलमान र इसाई भनेको के हो ? तर धर्म भन्ने कुरा उहाँलाई थाहा छ । यहि कार्यलाई जमराजले धर्म मान्नूहुन्थ्यो ।

श्रीमतीको सम्झनामा उहाँको कामै धर्मशाला, पानी पधेरो, बिसौनी, चौतारो चिन्ने हो ।

बैशाख ३० गते फेरि एउटा धर्मशालाको उद्घाटन गर्नुभयो । ५ नम्बर वडाध्यक्ष काली प्रसाद रोकाको विशेष उपस्थितिमा जमराज बुढाको हातबाट हिमाली जिल्ला रुकुम पुर्बको पुथाउत्तरगंगा गाउँपालीका स्थित देउराली मा. वि. हुकामको क्षेत्रभित्र स्कुले छात्रछात्रा र बटुवाहरुको सुबिधाको लागि धर्मशालाको समुद्घाटन गर्नुभएको हो ।

स्वतस्फूर्त रुपमा जम्मा भएका हुकामबासीले जमराजलाई खादा लगाएर सम्मान गरे । एक पोका चाउचाउ देखाएर फोटो खिचेर आफुले समाजसेवा गरेको देखाउने कथित प्रचारबाजी मान्छेहरुलाई उहाँले गजबले थप्पड दिनु भएको छ । जमराजको यस कार्यबाट नयाँ जमानाका नयाँ पुस्ताले प्रेम कसरी गरिदोरहेछ भनेर सिक्ने देखिन्छ ।

 

१ जेष्ठ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको