हामी युवाले यो प्रश्न नेताहरुलाई किन सोध्दैनौं ?


अनिल बस्ताकोटी/दुबई । मेरो देश नेपाल शान्तिको थलो । वीर बलभद्र, भक्ती थापा, अमरसिंह थापाहरुले कालापानीमा लडेर अंग्रेजका गुलाम हुनबाट बचाएको मेरो देश, सर्बशक्तिमान हिटलर कापेको देश, त्यो बाहादुरीताको कहानी, बेलायतलाई सहयोग गरेका ईतिहास ।

बुद्ध, सबैभन्दा पुरानो संस्कृत, बेद, महाभारत, गिता धर्म ग्रन्थ भएका हामी बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक देश । लुम्बिनि, सगरमाथा, वीर पुर्खाहरुलाई देखाएर अझै हामी बहादुर छौँ भनेर आत्मरत्तिको लागि गौरवमय गरिरह्यौं भने छिनभरमै सकिन्छौं ।

हिजो भारतले सिमामा डोजर चलायो, आज चीनले सगरमाथा चिनको तिब्बतमा पर्छ भन्छ । अमेरिकाले MCC को प्रस्ताब ल्याएर अफ्ठ्यारो पारेको छ ।

यदि भोलि यी देशहरुले नेपाल कब्जै गरेपनि हामी केही गर्न सक्दैनौं । यहि हाम्रो हैसियत हो । युद्धमा हिजोको जस्तो खुकुरी चम्काएर जित्न सकिदैन । हामीसँग न आधुनिक हतियार छ, न कुटिलता छ, न स्पष्ट परराष्ट्र नीति छ, हिम्मत भएर मात्रै आजको लडाइँ जित्न सकिदैन ।

यी सबै हाम्रो राजनैतिक अस्थिरताले निम्त्याएको परिणाम हो । उनिहरुलाई थाहा छ, जतिसुकै सिमा मिचेपनि हामी बोल्न सक्दैनौं । मुद्दाहरुलाई अन्तराष्ट्रियकरण गर्न सक्दैनौं । काठमाडौका सडकहरुमा चिच्याउछौँ, सकिन्छ । मानौं त्यो चिच्याहटले समस्या समाधान भयो ।

भारतले तेल नदिए यातायात ठप्प हुन्छ, ग्यास नदिए चुलो बल्दैन । तरकारी नदिए भोजन पाक्दैन । हाहाकार मच्चिन्छ भन्ने कुरा उनिहरुलाई थाहा छ ।

इतिहासकै एउटा आश लाग्दो दुइतिहाई पुगनपुगको सरकारले केही गर्छ कि भन्ने आशा थियो तर बोल्यो सकियो यहि अहिलेको सरकारको काम हो । लाज लाग्दा काण्डैकाण्डहरु । तर कार्यकर्ताहरु उनै भ्रष्ट नेताहरुको गुणगान गाउन किन नछोडेका ?

देशको नामोनिसाना मेटिन लाग्यो थाहा छैन । हामी युवाहरु दलभित्रै अल्मलिरहेका छौँ । कोहि भन्छौं म कंग्रेस, म नेकपा, म बिप्लव आदिआदी ।

हामीलाई थाहा छैन, देश कसरी चलेको छ ? देश किन बनेन ? समस्या के हो ? कहाँ छ यसको समाधान ? केही थाहा छैन । तर भित्रको कु. रोग झन जटिल बन्दै गरेको छ । अहिलेसम्म कसैको अधिनस्थमा नपरेको देश, कहिलै गुलाम नबनेको देशका हामी युवाहरु कसरी अरबिका गुलाम भयौं ? अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, भारत, दक्षिण कोरिया, मलेसिया, हङकङ लगायत संसारका थुप्रै देशका गुलाम किन भयौं ? आजको युवाले यो प्रश्न आफ्ना नेताहरुलाई किन सोध्दैन ?

१ जेष्ठ २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको