वैशाख २, काठमाडौं । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप एकएक जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए ।
अहिले सुदूरपश्चिम प्रदेशमा पाँच जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा चार जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।
यसअघि सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो ।
अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ । यता छिमेकी देश भारतले भने वैशाख २१ गतेसम्म लकडाउन घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस