चैत १, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार प्रचण्ड बालुवाटारमा पुगेका हुन्।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
प्रचण्डले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
यसअघि अध्यक्ष प्रचण्डले मिर्गौला प्रत्यारोपणको अघिल्लो दिन फागुन २१ गते अस्पतालमै पुगेर प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यसबीचमा अध्यक्ष प्रचण्ड आफैँ पनि अस्वस्थ भएका कारण अस्पतालमा नपुगे पनि घरबाटै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकाे सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि गत फागुन १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । प्रत्यारोपणको १० दिनपछि प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएपछि बालुवाटार फर्किएका हुन् ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओली चिकित्सकहरूको निगरानीमा बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस