‘तुलसी मेहरसरहका व्यक्तित्व शिक्षासेवी गौचनलाई बागलुङ मात्र होइन, समग्र राष्ट्रले सम्झनुपर्छ’


मङ्सिर २८, काठमाडौँ । दिवंगत राजनीतिज्ञ एवं शिक्षासेवी ओमकारप्रसाद गौचनका योगदानको चर्चा गर्दै शनिबार काठमाडौंमा स्मृतिसभा गरिएको छ । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँ विश्व डटकमले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले गौचनको राजनीतिक, शैक्षिक एवं सामाजिक व्यक्तित्वको चित्रण गरेका थिए ।

बागलुङमा जन्मिएका गौचनले समग्र देशकै शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उनीहरूको भनाइ थियो ।

स्मृतिसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वमन्त्री गौचनका कामप्रति समाज सधैं ऋणी र कृतज्ञ रहने बताए । गौचन परिवारले पश्चिमाञ्चल र बागलुङको सामाजिक परिवर्तनका लागि गरेको प्रयत्नकै कारणले त्यस क्षेत्रका थुप्रै प्रतिभाशाली युवाले स्थानीय र राष्ट्रिय रूपमा योगदान दिन सक्ने अवस्था बनेको श्रेष्ठले जनाए । ‘ओमप्रसाद गौचनका सुयोग्य पुत्र, बौद्धिक, सामाजिक राजनीतिक हिसाबले अब्बल ओमकार गौचन रहनुभएको थियो, बागलुङबासीलाई अप्ठ्यारो पर्दा उहाँले आफूले सकेको गर्नुहुन्थ्यो ।’

मुस्ताङको ७ सय थाक थकाली गाउँमा जन्मिएर १९८३ मा बागलुङलाई कर्मथलो बनाएका ओमप्रसाद गौचन र उनका छोरा ओमकारप्रसाद गौचनले आधुनिक बागलुङको निर्माणका लागि विद्यामन्दिर माध्यमिक विद्यालय, विद्यामन्दिर पुस्तकालय, परिवार नियोजन संघ, लुम्बिनी विकास कोषलगायत विभिन्न क्षेत्रमा कुशलतापूर्वक काम गरेर परिणाम दिएको श्रेष्ठले बताए ।

‘त्यति बेला शैक्षिक हिसाबले पोखराभन्दा बागलुङ अगाडि थियो, जहाँ मैले अध्ययन गरेको विद्यामन्दिर मावि र विद्यामन्दिर पुस्तकालयले गर्दा म यहाँसम्म आइपुगेको छु, त्यो विद्यालयका संस्थापक, प्रणेता उहाँ नै हो,’ उनले भने ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले गौचनले तुलसी मेहरसरहको योगदान दिएको भन्दै उनी बागलुङले मात्र नभई सिंगो देशले सम्झनुपर्ने व्यक्तित्व भएको बताए ।
कार्यक्रममा नयाँ विश्व डटकमका अध्यक्ष पुष्पमान श्रेष्ठले ओमकार गौचनको सादगी जीवनको स्मरण गर्दै उनले जिल्लालाई झोलुंगे पुलको परिचय दिलाउनुका साथै शैक्षिक क्षेत्रको परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

‘गौचनको जीवन सरल र सहज थियोे, उहाँमा कुनै अहंकार र वैभव थिएन । गरिब, दुःखी घर आएपछि आफूले सकेको सहयोग गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँको सादगी जीवनले मलाई थप प्रेरित गरेको छ, गौचनले देखाएको बाटोमा हामी हिँड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’ राज्यले दिएको सुविधालाई कम खर्च गरेर सकेसम्म त्यसलाई राज्यकै कोषमा दाखिला गरिदिने गौचनको स्वभाव रहेको उनले बताए ।

सांसद देवेन्द्र पौडेलले स्व. गौचन सक्रिय, जागरूक नेतृत्वकर्ता रहेको भन्दै उनले जिल्लाको विकासका लागि गरेको मेहनत अहिले पनि पश्चिम गाउँका बूढापाकाले बताउने गरेको सुनाए । ‘जिल्लामा तीन धारको राजनीति थियो, हामीले उहाँलाई नदेख्दा अरूले अर्कै कुरा सुनाउँथे, तरपछि भेट्दा सरलता, निष्ठावान् मान्छे पाएँ,’ उनले सम्झिए ।

‘इतिहास बुझ्दै जाँदा तिब्बत, उपत्यका र इस्ट इन्डिया कम्पनीसँग व्यापारलाई जोड्ने बागलुङ जिल्ला रहेछ, त्यो व्यापारलाई राष्ट्रसँग जोड्ने र त्यहाँबाट राज्यसँग पहुँच राख्ने व्यक्तित्व गौचन नै हुनुहुँदो रहेछ,’ पौडेलले भने ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गौचन हरपल पश्चिमाञ्चलको विकासका लागि सोच्ने व्यक्तित्व भएको बताए । ‘म काठमाडौं आउँदा बैंकमा सहायक स्तरको जागिरका लागि आवेदन दिएको थिएँ, उहाँले राष्ट्र बैंकका डेपुटी गभर्नरसँग चिनजान गराउनेदेखि मलाई बैंक क्षेत्रमा जोड्न महत्त्वपूर्ण सहयोग गर्नुभएको थियो,’ उनले भने । राष्ट्रिय स्तरका बौद्धिक नेता गौचनमा बागलुङबासी र त्यहाँको विकासका लागि सधैं लडिरहने गुण रहेको ढकालले सम्झिए ।

स्मृतिसभामा प्रभु बैंकका सीईओ अशोक शेरचनले स्व. गौचन राजनीतिसँगै शैक्षिक र सामाजिक क्षेत्रमा अझ बढी उल्लेख्य योगदान दिएका प्रतिभाशाली व्यक्तित्व भएको बताए । ‘गौचन परिवारले नै राणाकालमा सञ्चालनमा ल्याएको विद्यालयमा पढेर म यहाँसम्म आइपुगेँ,’ उनले भने ‘मेरो समयमा त्यो विद्यालय नभएको भए मैले धेरै चिज गुमाउने थिएँ । आजको म रहेको स्थानसम्म आइपुग्न गाह्रो हुने थियो ।’

यस्तै पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गौचन परिवारले प्रजातान्त्रिक आन्दोलनमा मात्र नभई बागलुङ, धौलागिरि र पश्चिमाञ्चलको शैक्षिक, राजनीतिक र सामाजिक विकासमा विस. १९८३ देखि नै महत्त्वपूर्ण योगदान दिएको बताए । ओमप्रसाद गौचन र ओमकारप्रसाद गौचनको कुशल नेतृत्वका कारण राणाकालदेखि नै बागलुङ बजारले आफूलाई परिवर्तन गर्न सकेको जनाउँदे उनले तत्कालीन युवाको नेतृत्वमा भएको शैक्षिक, सामाजिक र सांस्कृतिक आन्दोलनको जगमा आधुनिक बागलुङको निर्माण सम्भव भएको बताए ।

बागलुङ कल्याण केन्द्र काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले गौचन राजनीतिक चिन्तकका साथै सामाजिक सेवामा समर्पित व्यक्तित्व भएकै कारणले उनको नेतृत्वमा बृहत् लुम्बिनीको अवधारणा र मायादेवी मन्दिरको निर्माण सम्भव भएको बताए ।

स्मृतिसभामा जनप्रतिनिधि, व्यवसायी, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मीलगायतको उपस्थिति थियो । गौचनको गत कात्तिक २६ गते उपचारका क्रममा काठमाडौंको दीर्घायु अस्पतालमा निधन भएको थियो ।

२८ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको